लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मुसलमानको निधन


भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगको समस्या रहेका मुसलमानको शनिबार बिहान हृदयघातका कारण निधन भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानका अनुसार ७२ वर्षीया नगर प्रमुख मुसलमानको आज बिहान ९ बजे निधन भएको हो । शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लैजाने क्रममा लुम्बिनीको महजिदिया ल्याउँदै गर्दा उनको निधन भएको जनाइएको छ ।
अहिले मुसलमानको पार्थिव शरीर लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा राखिएको छ । परिवारका अनुसार प्रमुखसहित नगरपालिकाको टिम एकसाता लामो सिंगापुर र मलेसियाको भ्रमण पूरा गरेर शुक्रबार मात्रै घर फर्किएका थिए ।
नगरपालिकामा परामर्शदाता तुलसीराम लामिछानेले नगर प्रमुखको निधनले पालिका शोकमा रहेको जनाए । २०७९ को निर्वाचनमा मुसलमान नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा मुसलमानले जनमत पार्टीका चन्द्रकेश गुप्ता (सीके) लाई पराजित गरेका थिए ।








प्रतिकृया दिनुहोस्