May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बुधबारदेखि एक महिनासम्म ‘मुख सचेतना तथा निःशुल्क परीक्षण’ अभियान

Advertisement

बुटवल– रुपन्देहीमा एक महिनासम्म मुख सचेतना तथा निःशुल्क परीक्षण अभियान संचालन हुने भएको छ । आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स, लायन्स क्लब अफ रुपन्देही, दारी ग्याङ रुपन्देही र आधुनिक समाज विकास फाउन्डेशनको आयोजनामा अभियान हुन लागेको हो । ‘स्वस्थ शरीरका लागि स्वस्थ मुख’ भन्ने नारासहित बुधबारदेखि असोज ५ गतेसम्म अभियान संचालन हुने छ ।

Advertisement

आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी अभियानको परिकल्पना र कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका हुन् । आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसालले पैसाको अभावमा कसैले दुखाई सहन नपरोस्, पैसाकै अभावमा कसैले मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यले अभियान चलाउन लागिएको जनाए ।

‘हामी व्यवसायिक सोचभन्दा माथि सामाजिक उत्तरदायित्व लिएर भदौ ४ गते बिहान ७ः३० बजेदेखि साँझ ६ बजेसम्म विशेषज्ञ डाक्टरबाट निःशुल्क दन्त उपचार सेवा दिनेछौं’, उनले भने । अभियानको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु समेत सहभागी हुनेछन् ।

लायन्स इन्टरनेशनल डिस्टिक ३२५ पी, नेपालका वर्ष २०२५–०२६ का डिस्टिक गभर्नर बालाराम भट्टराई, लायन्स क्लब अफ रुपन्देही वर्ष २०२५–०२६ का अध्यक्ष घनश्याम घिमिरे, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारी, दारी ग्याङ रुपन्देहीका अध्यक्ष रमेश खनाललगायतले बोल्दै स्वस्थ मुख महाअभियानले मुख रोगमा कमी ल्याउँदै समाजमा जनचेतनामा वृद्धि गर्न सहयोग पुग्ने बताए ।

१ महिना सम्म चल्ने स्वस्थ मुख महाअभियानमा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, पत्रकार, युवा क्लब र सर्वसाधारण सबैले मुख स्वास्थ्य उपचार सेवा लिन समाजले आह्वान गरेको छ । आधुनिक समाज डेन्टल केयर प्रालिले बिद्यालय, कार्यालय तथा गाउँवस्तीहरुमा नियमित रुपमा निःशुल्क मुख स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

समाजले १ लाख भन्दा बढी बिद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा, देशका ५० जिल्लामा निःशुल्क स्वास्थ्य शिविर, न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा, नीतिगत सुधारको निम्ति स्थानीय सरकारसँग निरन्तर सम्वाद गर्दै सामाजिक अभियानमा निरन्तर नेतृत्व गर्दै आएको छ ।