रूपन्देही–३ उपनिर्वाचनः वस्तुस्थिति बुझ्न काँग्रेस महामन्त्री शर्मा फिल्डमा


भैरहवा– रुपन्देही–३ मा हुने उपनिर्वाचनमा पार्टी र मतदाताको मनोभावना तथा वस्तुस्थिति बुझ्न नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यहाँ आएका छन् । शर्माले रुपन्देहीमा आएर उपचुनावको फिल्ड स्टडी गर्ने छन् । कांग्रेसले महामन्त्री शर्मालाई रुपन्देही पठाएको हो । कांग्रेसका अर्का महामन्त्री गगन थापाले महामन्त्री शर्मा उपनिर्वाचनको फिल्ड स्टडी गर्न रुपन्देही गएको जानकारी दिए ।
कांग्रेसले केही दिन अगाडि २०७९ को निर्वाचनमा रुपन्देही–३ मा पार्टीबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाण, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण र पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पदाधिकारी बैठकमा बोलाएर यहाँको अवस्थाबारे जानकारी लिएको थियो ।
शर्माले यो निर्वाचन क्षेत्रमा पार्टीको अवस्था कस्तो छ ? उपनिर्वाचन जित्नका लागि के गर्नुपर्छ ? कस्तो नेतालाई उम्मेदवार बनाउनुपर्छ भन्ने बारेमा अध्ययन गरेर फर्कनेछन् । शर्मा यसअघि पनि रुपन्देही आएर यहाँको वस्तुस्थिति बुझेका थिए । यहाँ आगामी कात्तिक १७ गतेका उपनिर्वाचन हुँदैछ ।
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि यहाँ उपनिर्वाभन हुन लागेको हो । काँग्रेस स्रोतका अनुसार रुपन्देहीका पूराना नेता रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने तयारी छ । तर, निर्णय भइनसकेकाले हेरफेर समेत हुनसक्नेछ । यो उपनिर्वाचन जसरी पनि जित्ने लक्ष्यसहित काँग्रेसले आफ्ना सबै संयन्त्र परिचालन गर्ने जनाएका छन् । काँग्रेस नेता बालकृष्ण खाँण पनि अहिले रुपन्देहीमै छन् । उनले पनि निर्वाचनको माहोल बुझिरहेका छन् भने पार्टी नेताकार्यकर्तासँग पनि भेटघाट गरिरहेका छन् ।








प्रतिकृया दिनुहोस्