रुपन्देही–३ को उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन


भैरहवा– मिति नजिकन थालेपछि रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनको तयारी अगाडि बढेको छ । यसक्रममा उक्त निर्वाचनमा भाग लिन २७ दलले निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा २७ दलबाट २८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिने जनाएको छ ।
पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए । डगौराले निवेदनको दर्ता नं. ६ हो । अध्यक्ष रञ्जिता श्रेष्ठले भने अन्तिम दिन २७ गते दल दर्ताका लागि निवेदन दिएकी थिइन् । उनको दर्ता नं. २५ कायम भएको छ । यही साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । लगत्तै निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न निवेदन दिएकोमा आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ ।
श्रेष्ठलाई नै अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय भएकाले रेशम पक्ष (लालवीरलाई अध्यक्ष बनाउने समूह)बाट रामलाल डगौराले दिएको निवेदन स्वतः खारेज हुने आयोग स्रोतको भनाइ छ । रञ्जिता नै अध्यक्ष भएकाले उम्मेदवारको मनोनयन दर्तामा उनकै हस्ताक्षर आधिकारिक हुनेछ । एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेका तराई–मधेशका दलहरु पनि एक हुन सकेनन् । उपनिर्वाचनमा रुपन्देही–३ मा नाउपालाई समर्थन गर्ने सहमति सात पार्टी सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाबीच भएको थियो । तर, यो दलमा आन्तरिक विवाद हुँदा जनमत पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएको छ । नाउपा र जनमत पार्टी एकताको अन्तिम चरणमै पुगेका समाचारहरु सार्वजनिक भएका थिए ।
रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।








प्रतिकृया दिनुहोस्