बाजा बजाएरै महिलाहरूले गर्छन् लाखौं आम्दानी


भैरहवा– अझै पनि धेरै महिलाहरु घरायसी काममा सीमित छन् । केही उद्यम, सरकारी सेवा त केही निजी व्यवसायिक फर्ममा काम गरेर आयआर्जन गरिरहेका छन् । तर, पाल्पाको तानसेन नगरपालिका–१०, तेल्घाका महिलाहरुले बाजा बजाएरै वार्षिक लाखौं रुपैयाँ कमाउने गरेका छन् । तीन वर्षदेखि शुरु गरेको बाजा बजाउने व्यबसायले महिलाहरुको आयआर्जनदेखि आत्मविश्वास, हौसल्ला र इज्जत बढाएको छ ।
६० वर्षको उमेरका महिलाहरु पनि युवा जस्तै जोशमा बाजा बजाउन खटिएका छन् । बाजा बजाउने टिमको नेतृत्व गरेका छन्, हजुरआमा पुस्ताका महिलाहरुले । उनीहरुमा कुनै उमेर घर्केको महशुस छैन । युवाको जस्तै जोशजाँगर, साहस र हिम्मतका साथ विगत ३ बर्षदेखि सामाजिक चुनौतीहरुलाई चिर्दै बाजा बजाउने काममा सक्रिय भएका छन् ।
स्थानीय तारादेवी बस्यालको नेतृत्वमा कमला बस्याल, मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पंगेनी, मञ्जु कंडेल, मिरा न्यौपाने र निरला शर्मासहित १२ जना महिलाको टोलीले बाजा बजाउँदै आएका मात्रै छैनन्, मनग्य आम्दानी समेत गरिरहेका छन् । पाल्पाका अधिकाश, कार्यक्रम, विवाह, महोत्सव, बार्षिक उत्सव देखि विभिन्न मेलासमारोहमा महिला बाजाको माग हुने गरेको छ ।
महिलाले बजाएको धंकुरी कर्नाल, सन्हाई, मरचुङ्गा, दमाहा, ढोलक, ट्याम्को, झ्यालीले सबैलाई आकर्षित बनाउने गरेको छ । तानसेन तेल्घाको महिला बाजा जिल्ला भित्र मात्र होइन्, छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची रुपन्देही र स्याङ्जासम्म चर्चित बनेको छ । ब्राह्मण समुदायका महिलाहरु मिलेर विगत ३ वर्षदेखि बाजा बजाउने काम गर्दै आएका छन् ।
महिला बाजा समूहले एउटा कार्यक्रमको १५ हजारदेखि ६० हजारसम्म पारिश्रमिक लिने गरेका छन् । बाजा बजाउँदा बार्षिक रुपमा तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बाजा समूहकी अध्यक्ष तारादेवी बस्यालले बताइन् । ‘घरधन्दाको कामले मात्र जीवन विताउन कठिन भएपछि गाउँका महिलाहरुले सरसल्लाह गरेर बाजा बजाउन सिकेका हौं’, उनले भनिन्, ‘अहिले सन्तुष्ट छौं, आम्दानी पनि राम्रै भइरहेको छ ।’
तेल्घाका महिलाहरुले मुख्य पेशा नै बाजा बजाउने रोजेको हुन् । बजा बजाउँदा सबैतिरबाट हौसला पाएको, आम्दानी पनि राम्रो भएको, पेशा प्रति खुसी र सन्तुष्टि मिलेको समूहकी उपाध्यक्ष कमला बस्यालले जनाइन् । ‘शुरुशुरुका दिनमा बाजा बजाउने काममा ब्राह्मण समुदायका महिलाहरु लागेको भन्दै विभिन्न ठाउँमा कुरा काट्ने काम भएका थिए’, उनले भनिन्, ‘कुरा काट्नेहरुलाई वेवास्ता गर्दै अघि बढ्यौं । आज सफल पनि भएका छौं ।’
शुरु गरेको काम छोड्नु हुँदैन भनेर निरन्तर लागेकै कारण तेल्घा महिलाहरु सफल भएका हुन् । निरन्तर मिहिनत र संघर्षको कारण अहिले तानसेन पाल्पाको महिला बाजा भनेर चर्चा कमाएका छन् । चर्चासँगै राम्रो आम्दानी, घरपरिवारको साथ र सहयोग भएपछि महिलाहरुमा कामप्रति हौसल्ला बढेको समूहकी कोषाध्यक्ष मञ्जु पन्थीले बताइन् ।
अहिले आम्दानी हुने जुनसुकै काम पनि महिलाको चासो र सरोकार बढ्दै गएको छ । महिलाले गर्ने कामहरुमा परिवार, समुदाय र सरकारले पनि सहयोग तथा हौसला बढाउने गरेको छ । परिवार, समाज र सरकारको सहयोगकै कारण तानसेनका महिलाहरुमा जोश, जागर र उस्ताह बढेको छ, जसका कारण बाजाको माध्यमबाट महिलाहरुले आयआर्जनको बलियो माध्यम बनाएका छन् ।








प्रतिकृया दिनुहोस्