जहाँ बिरामीलाई अस्पतालको बरण्डामा राखेर उपचार गर्नुपर्छ


भैरहवा– प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरुको भाषण जनताको समस्या समाधानका लागि आफू पुरै समर्पित रहेकोमा केन्द्रित रहने गर्छ । प्रदेश संरचनाप्रति जनतामा उब्जिन थालेको नैराश्यता र बितृष्णालाई मत्थर पार्ने गरि प्रदेशका मन्त्रीहरु कलात्मक ढंगबाट भाषण गर्ने गर्छन् । तर, उनीहरुले गर्ने गरेको भाषण र जनताले भोग्नु परेको यतार्थतामा भने आकास जमिनको भिन्नता हुने गर्छ ।
लुम्बिनीका अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्य पनि जहाँ–जहान् प्रमुख अतिथि बनेर पुग्छन्, त्यहाँ त्यही बिषयका वारेमा बोल्दै समस्या समाधान गर्ने योजनामा प्रदेश सरकार रहेको र समस्या समाधान गर्ने दावीका साथ भाषण गर्न पछि पर्दैनन् । तर प्रदेश सरकार मातहतमा रहेका सेवा प्रदायक कार्यालयहरुमा समस्याका चाङ प्रशस्त छन् । समाधान भन्दा बेथिति उत्तिकै मौलाएको भान आम सेवाग्राहीले गर्दै आएका छन् ।
प्रशंग हो, स्वास्थ्य क्षेत्रको । आम जनतालाई अति आवश्यक आधारभूत सेवा क्षेत्रको । प्रदेश अस्पतालदेखि जिल्ला अस्पताल र त्यसभन्दा मुनिका सबै तहका अस्पताल प्रदेश सरकार मातहतमा छन् । सबै अस्पताललाई औषधि लगायतका बजेटको व्यवस्था पनि संघ सरकारबाट प्राप्त भएकै हुन्छ ।
तर पनि लुम्बिनी प्रदेशका लगभग सबै सरकारी अस्पताल विभिन्न समस्याले ग्रसित नै छन् । प्रदेश सरकारबाट बजेटको व्यवस्थापन आवश्यकताको आधारमा भन्दा पहुँचको आधारमा हुनुले कतै कुनै अस्पतालमा अत्याबश्यक सेवाका लागि पनि बजेटको अभाव छ । भने, कतै अति महत्वाकांक्षी योजना तथा गुरुयोजना बनाउँदै बालुवामा पानी सोसे जस्तै बजेट खन्याएको खन्याइ गर्ने गरिएको छ । यस खालको प्रबृत्तिले बजेटको समानुपातीक बितरण नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।
यस खालको समस्याको एउटा ज्वलन्त उदाहरण बन्ने गरेको छ, बर्दिया अस्पताल । जुन अस्पताल बर्षेनि लुम्बिनी प्रदेशभित्र रहेका जिल्ला अस्पतालमध्ये मूल्यांकनमा प्रथम भइरहने गर्छ । यही अस्पतालमा बिरामीको चाप बढेसँगै भवनको अभावमा उपचारमा समस्या हुँदै आएको छ । आवश्यकता अनुरुपको भवन नहुँदा अस्पतालमा आउने बिरामीको चाप बढेको समयमा बिरामीलाई बाहिर बरन्डामा राखेर उपचार गर्ने गरिएको छ ।
५० शय्या सञ्चालन भएको अस्पतालमा नियमानुसार १० प्रतिशत शय्या आकस्मिकका लागि छुट्याउनुपर्ने हुन्छ तर बर्दिया अस्पतालमा भने सञ्चालित संख्याभन्दा बढी आकस्मिकलाई छुट्याउँदा पनि बिरामीलाई बरन्डामा राखेर उपचार गर्नु पर्ने बाध्यता छ ।
बर्दिया अस्पतालले आकस्मिकका लागि भनेर ६ वटा शय्या छुट्याउँदासमेत बिरामीलाई राख्ने ठाउँको अभाव अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा बरन्डामा बसेर उपचार गराउनु परेको राजापुर नगरपालिकाका स्थानीयबासी देवराज ढुंगाना बताउँछन् ।
विशेष गरी बर्षायाममा बिरामीको चाप बढ्ने हुँदा आकस्मिक भर्ना गरिए पनि बिरामीको उपचार भने बरणडामा राखेर गर्ने गरिन्छ । बर्षातको समयमा ज्वरो, रुखाखोकी, डेङ्गु, स्क्रबटाइफस र सर्पले टेकेका बिरामी अत्यधिक मात्रामा आउने गर्दछन् । यसरी बिरामी आउँदा अस्पताललाई सेवा प्रवाह गर्न स्थानको अभाव भएको हो ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुवास पाण्डेले अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा आकस्मिक कोठामा बिरामीलाई उपचार गर्न ठाउँ कम भएकाले बरन्डामा राखेर भए पनि उपचार गरिएको बताउँछन् । ‘अस्पतालले आकस्मिक सेवा सञ्चालनका लागि भवन निर्माण गर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको भए पनि अहिलेसम्म भवन निर्माणका लागि बजेट विनियोजन हुनसकेको छैन’, उनको भनाइ छ ।
आर्थिक वर्ष २०८२–८३ लागि प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट अस्पतालको भवन निर्माणका लागि अपुग हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र यादव बताउँछन् । उक्त अस्पतालमा बिरामीको उपचार गर्न जिल्लाका आठ स्थानीय तहबाट बिरामी आउने गर्छन् ।
कतिपय सरकारी अस्पताल पउचको आधारमा कर्मचारी भर्ना केन्द्र बनेका छन् । नियुक्ति गर्ने परिपाटी क्षमताको आधारमा भन्दा अस्पतालका उच्च ओहदाका कर्मचारी, राजनीतिक नेताका कार्यकर्ता, जिल्लास्थित उच्च पदस्थ कर्मचारीका आफन्तलाई मिलाएर सेटिङबाट गर्ने गरिएको छ । यसरी राखिने कर्मचारी तथा जनशक्तिबाट आम सेवाग्राहीले कस्तो खालको सेवा पाउने ? प्रदेश सरकारले यसतर्फ कहिले ध्यान दिने ?








प्रतिकृया दिनुहोस्