August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा लागिपरेका छौंः मन्त्री तिमिल्सिना

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा सरकार लागिपरेको बताएका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योजनाबद्धरुपमा काम गरिरहेको जनाए ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित बेलहिया माध्यमिक विद्यालयको निरीक्षण गर्दै उनले सामुदायिक विद्यालयको शिक्षा सुधार गरी निजीसरह प्रतिस्पर्धी बनाउन जरुरी रहेको बताए । मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै पठकपाठन सुधार गर्न मापदण्ड बनाएर काम गरिरहेको उनले जनाए ।

उनले बेलहिया माविको भौतिक पूर्वाधारलाई अब्बल बनाउन आवश्यक बजेट विनियोजन गरिएको बताए । आगामी दिन पनि यसलाई निरन्तरता दिँदै जाने बताउँदै मन्त्री तिमिल्सिनाले पठापाठनमा सुधार गरी अब्बल जनशक्ति उत्पादनमा ध्यान दिन विद्यालय व्यवस्थापन र शिक्षक–शिक्षिकालाई निर्देशन समेत दिए ।

विद्यालय निरीक्षण तथा अनुगमनमा मन्त्रालयका सचिव वसन्तप्रसाद कोइराला, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायणप्रसाद पोख्रेल, रुपन्देही सामाजिक विकास डिभिजन प्रमुख हरि विष्ट लगायतले पुगेका थिए । उनीहरुले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाका बारेमा जानकारी दिएका थिए ।

मन्त्री तिमिल्सिनासहितको टिमलाई विद्यालयमा स्वागत गर्दै व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले समग्र विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । उनले शैक्षिक सुधारका लागि व्यवस्थापन समिति र शिक्षक–शिक्षिकाले योजना बनाएर काम गरिरहेको सुनाए । यस क्षेत्रको पूरानो विद्यालय भएको र यहाँको भौतिक संरचना सुधारमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरी शैक्षिक उन्नयनमा पुर्याएको योगदानलाई अध्यक्ष न्यौपानेले धन्यवाद दिए । मन्त्रालयले विद्यालयको भौतिक संरचना निर्माणका लागि यस वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ ।