सधैं ‘निदाइरहने’ ट्राफिक लाइट


भैरहवा– सिद्धार्थनगर नगरपालिकाले चार वर्ष भन्दा पहिला भैरहवाको देवकोटाचोक र बुद्धचोकमा ट्राफिक लाइट जडान गरेको छ । यसको मुख्य उद्देश्य हो, दुर्घटना न्युनीकरण । तर, विडम्बना ट्राफिक लाइट सधैं ‘एक्टिभ’ (बल्दैन) हुँदैन । पटक–पटक मर्मत गर्दा नै लाखौं रुपैयाँ ‘स्वाहा’ भइसकेको छ । यतिबेला पनि बुद्धचोकको लाइट मर्मत गरिएको छ । मर्मत पछि पनि लाइट बलेको छैन ।
खासमा अझ भन्ने हो भने ट्राफिक लाइट बलेको भन्दा नबलेको दिन धेरै छ । तीव्र गतिमा आउने सवारी केही समय लाइटमा रोकिने गर्थे । यसले चालकलाई केही समय तिव्रताको सन्तुलन कायम गर्न सहयोग पुगेको थियो । बुधबार देवकोटाचोक र बुद्धचोक दुबै ठाउँको लाइट बलेको छैन । हुनतः लामो समयदेखि ट्राफिक लाइटमा समस्या हुँदै आएको छ ।
यी दुबै ठाउँ चारैतर्फको मुख्य चोक भएकाले व्यस्त हुन्छन् । व्यस्त सडकमा चारैतिरबाट आउजाउ गर्ने गाडी ठोक्किने जोखिम बढीरहेको छ । तर, भएको ट्राफिक लाइटसमेत निरन्तर संचालन गर्न नगरपालिका चुकेको छ । सामाजिक संजालदेखि प्रत्येक्ष भेटेर समेत लाइट मर्मत गर्न नगरपालिकासँग धेरैले आग्रह गर्दै आएका छन् । खोइ, किन नगरपालिकाले त्यतिधेरै चासो दिएको पाइँदैन । लाखौं रुपैयाँ खर्चेर बनाइएको लाइट छोटो समयै प्रयोगबिहीन जस्तै बनेको छ ।
अनुत्पादक क्षेत्रमा समेत बजेट खर्चेर आलोचना खेपिरहेको नगरपालिकाले मानिसको ज्यान र सवारी क्षति रोक्ने उद्देश्यले जडान गरिएको लाइट समेत नियमित गर्न सकेको छैन । यसैले आजकल देवकोटाचो र बुद्धचोक पुगेर ट्राफिक लाइट देख्ने सर्वसाधरण र भैरहवा आउने पाहुनाले भन्ने गर्छन्, ‘कहिल्यै नबल्ने’, ‘बल्न नजानेको’, ‘नगरको हेल्चेक्र्याइँ खेपिरहेको’ र ‘सधैं निदाइरहने’ ट्राफिक लाइट ।








प्रतिकृया दिनुहोस्