August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

एसईई उत्तीर्ण १२९ विद्यार्थीलाई रोहिणीले दियो साइकल

Advertisement

भैरहवा– माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई रुपन्देहीको रोहिणी गाउँपालिकाले साइकल वितरण गरेको छ । साइकल सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई वितरण गरिएको हो । निजी विद्यालयका विद्यार्थीहरुलाई भने साइकल दिइएन । गाउँपालिकाले शनिबार कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।

Advertisement

२०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामुदायिकबाट १२६ तथा धार्मिक विद्यालयबाट ३ गरी १२९ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहन गर्न साइकल वितरण गरिएको जनाए । उनले आगामी वर्षहरुमा पनि साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘यस्ता प्रोत्साहनले विद्यार्थीहरुलाई हौसला प्रदान गरी अध्ययनतर्फ थप प्रेरित गर्छ भन्ने हाम्रो उद्देश्यले हो,’ उनले भने । अघिल्ला वर्षहरु भन्दा यस वर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार आएको उनले जनाए । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा यादवको जोड छ ।

पालिका उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुको प्रोत्साहन र शिक्षा सुधारमा पालिका लागिपरेको जनाइन् । शिक्षा शाखा प्रमुख रामनेवासप्रसाद चौधरीले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको जनाए । छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रकुमार यादवले गाउँपालिकाले गरेको साइकल वितरण कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताए ।

एसईईमा ३ दशमलव ६६ जीपीए ल्याउने छिपागढ माविकी विद्यार्थी अस्मिता यादवले गाउँपालिकाले साइकल वितरण गरेपछि आत्मबल बढेको भन्दै आभार व्यक्त गरिन् । एसईईमा छिपागढ माविबाट ३ दशमलव ६६ जीपीए ल्याउने यादव गाउँपालिका प्रथम र पिपरहवा माविबाट ३ दशमलव ६५ जीपीए ल्याउने साधना यादव द्वितीय भएका छन् ।