May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

जाउँ है पोखरा अभियान बुटवलमा, लुम्बिनी-पोखरा जोडेर प्रवर्द्धन गर्नुपर्नेमा जोड

Advertisement

बुटवल– पोखरेली पर्यटन व्यवसायीहरु पोखराको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीका आएका छन् । होटल संघ पोखरा नेपाल र जाउँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा जेठ २९ गते देखि असार २ गते सम्मका लागि पश्चिम नेपालका वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन ल्याएकार आएको छ । सोही क्रममा बुटवलमा प्रबद्र्धनात्मक र छलफल गरिएको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरिएको छ ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन पवद्र्धनका लागि काम गर्नुपर्ने बताए । उनले अब पोखरा र लुम्बिनीलाई जोडेर पर्यटन प्रव अभियान थाल्नुपर्ने बताए । उनले आफू कास्की पोखरामा रहँदा रात्रीकालिन बजार सञ्चालनमा भूमिका खेलेको बताउँदै पोखरा आफैमा प्राकृतिक रुपमा सुन्दर नगरी रहेको बताए । ‘पोखरा प्राकृतिक रुपमा सुन्दर पर्यटकीय राजधानी हो, लुम्बिनी स्प्रिच्युअल राजधानी हो’, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने । उनले लुम्बिनीलाई आधात्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

यस्तै, अन्तरक्रिया कार्यक्रममा नेपाल होटल संघ (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपालमा जनसंख्या निकै न्यून भएकाले आन्तरिक भन्दा विदेशी पर्यटकहरुलाई नै आकर्षित गर्ने गरी अभियानहरु सञ्चालन गर्नुपर्ने बताए । उनले सरकारले लिने नीतिका कारण पर्यटकहरु आउन नसकेको र आएकाहरुले खर्च नगरेको समेत बताए ।

उनले अहिले वर्तमान सरकारले भन्सार चेकजाँमा लिएको नीति, भारतीयहरुलाई २५ हजार भन्दा बढि ल्याउन नदिने नीतिमा ५ हजार डलरसम्म ल्याउन दिने जस्ता प्रावधान राखेर बजेट आएकाले त्यसले पर्यटन क्षेत्रमा आशा जगाएको बताए । यसैगरी अन्तरक्रिया कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष एवम् जाउँ है पोखरा अभियानका संयोजक लक्ष्मण सुवेदीले दुई दशकअघिदेखि शुरु भएको यो अभियानले आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

उनले बुटवल भैरहवाका होटल व्यवसायीहरुसँग सहकार्य गरेर विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै लुम्बिनी र पोखरा जोड्ने गरी अभियानहरु थाल्नुपर्नेमा जोड दिए । उनले पश्चिम नेपालका सहरहरुसँग पोखरालाई जोड्न सिधा बस सेवा, भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी गोपाल रानाले वर्तमान सरकारले होटललाई उद्योगसरहको मान्यता दिएर बजेट ल्याएकाले सकरात्मक उर्जा पैदा भएको बताए । कार्यक्रममा होटल व्यवसायी महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, लेखक युवराज कंडेल लगायतले बोल्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा जाउँ है पोखरा बुटवल भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुका लागि समेत सिकाई हुने बताए ।

अभियान अन्तर्गत बुटवलपछि नेपालगञ्ज, सुर्खेत र दाङको घोराहीमा कार्यक्रम रहेको आयोजकले जनाएका छन् । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियानले अपिल गरेको छ ।

पोखराको होटल क्षेत्रमा पाँच खर्ब हाराहारीको लगानी, एक हजार दुई सय होटलमा ४० हजार बेड तथा करिव २० हजार जनाले रोजगारी पाएको होटल संघ पोखराको दावी छ । आन्तरिक पर्यटन प्रबद्र्धन कै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको लुम्बिनीराइजलाइ संघले जनाएको छ । संघले भारतीय पर्यटक प्रवद्र्धनका लागि भारतीय शहरहरुमा ‘चलिए पोखरा अभियान’ समेत संचालन गर्दै आएको जानकारी जनाएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरुमा समेत संघले सहभागिता जनाउँदै आएको छ । पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठ, मन्दिरहरुमा सन्ध्याकालिन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ लगायत दर्जनौं पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराउँदै पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै हिसावले उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउँदै पोखरा भ्रमणका लागि अभियानले निम्तो समेत दिएको छ ।