धपक्क बलेको लुम्बिनी गेट (फोटो फिचर)


भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशद्वार सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनीरोडस्थित लुम्बिनी गेट धपक्क बल्न सुरु गरेको छ । २०११ सालमा निर्मित उक्त गेट सिद्धार्थनगरले रंगरोगन गरी बत्ती जडान गरेर थप आकर्षक तुल्याएको हो ।
बुद्ध जयन्तीका बेला गेटको रंगरोगन र बत्ती जडानमा ढिलाइ भएको भन्दै आलोचना भएको थियो । तर, गेटको चारैतिर सडक विभागले सडक मर्मतका सुरु गरेपछि काममा विलम्ब भएको थियो । सडककै कारण बुद्ध जयन्तीमा रंगरोगन र बत्ती जडानको काम सकिएको थिएन ।
तर, मंगलबारबाट काम सकिएपछि लुम्बिनी गेट सबैलाई लोभ्याउने बनेको छ । फरक–फरक लाइटिङले रातको समयमा साँच्चिकै लुम्बिनी गेटले सबैको मन लोभ्याउने भएको छ । नगर प्रमुख इश्तियाक अहमद खाँले बैदिक धर्मसेवा समिति, सिद्धार्थ उद्योग बाणिज्य संघ, स्वर्गीय ओमकार गौचन र निधानचन्द्र श्रेष्ठ, सिद्धार्थनगरबासी, विभिन्न संघसंस्था र सामाजिक व्यक्तिहरुको योगदान गेट निर्माणमा रहेको जनाए ।
उनले बीचमा गेट केही फोहोर भए पनि मर्मत, सरसफाई र लाइटिङ झकमक्क बनेको जनाए । यसको संरक्षणमा नगरपालिका सधैं दत्तचित्त भएर लाग्ने उनको भनाई छ । नगर उपप्रमुख उमा अधिकारीले पुरातात्विक शैलीमा बनाएको लुम्बिनी प्रवेशद्वार लुम्बिनी गेट निर्माण गर्ने सबैमा धन्यवाद व्यक्त गरिन् ।

‘भैरहवाको पहिचानको रुपमा रहेको लुम्बिनी गेट अति सुन्दर छ, त्यसमाथि आरजिपी वालवासर लाइट जडान पछि झनै लोभलाग्दो, मनमोहक दृश्य देखिनएको छ’, उनले भनिन् ।











प्रतिकृया दिनुहोस्