उद्योग व्यापार संगठनको अगुवाईमा विमानस्थल अगाडि धर्ना (तस्बिरहरू)


भैरहवा– रुपन्देहीको भैरहवाका दर्जनौं संघसंस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै बुधबार एक घण्टा धर्ना दिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय छर्मिनल भवन अघिको मूल गेटमा धर्ना दिइएको हो । उद्योग ब्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श, रुपन्देही)को आह्वानमा विरोध सभाससहित धर्ना कार्यक्रम भएको छ । पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन छ ।
विमानस्थलमा उडान ठप्प हुँदा निजी क्षेत्र धरासायी भएको भन्दै एक दिनको एक घण्टा धर्ना कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए । धर्ना तथा विरोध सभा कार्यक्रममा सिद्धार्थ संजाल, रपन्देही, लुम्बिनी इँटा व्यवसायी संघ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगर, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर सहकारी संजाल, बैदिक सनातन धर्म सेवा समिति, भैरहवा, दरखसवा गाउँ समाज, नेवा खलः सिद्धार्थनगर, किराना तथा प्लास्टिक व्यवसायी संघलगायतका संघसंस्था ब्यानरसहित सहभागी भएका थिए ।

यस्तै, जेसीआई सिद्धार्थ नेपाल, जेसीआई सिद्धार्थ लेडी नेपाल, मायादेवी टोल सुधार समिति, स्वतन्त्र इ–रिक्सा तथा अटो–टेम्पो चालक संघ, नेपाल–भारत मैत्री संघ पनि ब्यानरसहित सहभागी थिए । सिद्धार्थ उद्योग बाणिज्य संघ र सिद्धार्थ होटल संघका पदाधिकारी तथा सदस्यहरु पनि धर्ना कार्यक्रममा सहभागी भए । यस्तै, अन्य दर्जनौं संघसंस्थाले धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता समेत जनाएका छन् । विमानस्थलमा नियमित उडान नभए पुनः एकहप्ता पछि निरन्तर विरोधका कार्यक्रम संचालन गरिने संगठनले जनाएको छ ।














प्रतिकृया दिनुहोस्