बेथरीका पोलिक्लिनिक र फार्मेसीमा अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन


भैरहवा- जिल्ला अनुगमन समितिले रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी क्षेत्रका पोलिक्लिनिक र फार्मेसीहरुमा अनुगमन गरेको छ । आइतबार अनुगमनका क्रममा मापदण्ड अनुसार संचालन गरेको नपाइएपछि फार्मेसी र क्लिनिकलाई तत्काल मापदण्ड पूरा गर्न निर्देशन दिइएको अनुगमन समिति संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले बताए ।
समितिले मायादेवी–६, बेथरीको सिद्धिविनायक पोलिक्लिनिक, मायादेवी पोलिक्लिनिक प्रालि, खाँन मेडिकल हल र दुर्गा फार्मेसीमा अनुगमन गरेको थियो । मापदण्ड विपरीत संचालन र चिकित्सकको प्रेस्किप्सन विना औषधि विक्री गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा मायादेवी पोलिक्लिनकले संस्था संचालन अनुमती नलिएको, आवश्यक जनशक्ति व्यवस्थापन नगरको पाइएको छ ।
उक्त संस्था कम्पनी रजिस्टार कार्यालयमा दर्ता भए पनि स्थानीय पालिका र स्वास्थ्य कार्यालयमा दर्ता छैन । त्यसैले उक्त पोलिक्लिनिकलाई स्वास्थ्य संस्था दर्ता, संचालन तथा नविकरण ऐन २०७५ र नियमावली २०७७ बमोजिम मापदण्ड पूरा गरी संचालन गर्न निर्देशन दिइएको छ । पहिलोपटकलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको र पुनः अनुगमनका क्रममा पनि मापदण्ड पालना नगरेको पाइए कारबाही गरिने रानाले जनाए ।

सिद्धिविनायकले भने सबै मापदण्ड पूरा गरेको पाइएको छ । खाँन मेडिकल र दुर्गा फार्मेसीलाई भने नाकोटिक औषधिहरुको रेकर्ड राख्न र चिकित्सकको प्रेस्किप्सन (बिरामी पुर्जा) विना औषधि विक्री नगर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ ल्याब टेक्निसियन निरीक्षक खिमलाल पाण्डेले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयसँगै मायादेवी गाउँपालिका, सिद्धार्थ उद्योग बाणिज्य संघ, उपभोक्ता हीत संरक्षण मंच र इलाका प्रहरी कार्यालय, बेथरीका प्रतिनिधिहरु सहभागी थिए ।








प्रतिकृया दिनुहोस्