जगर्श सदस्यहरूलाई सिटी हस्पिटलमा उपचार गराउँदा छुटैछुट


भैरहवा– जगर्श ग्रुप भैरहवाका सदस्यहरुलाई भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा उपचारमा छुट दिन सहमती भएको छ । अस्पताल परिसरमा एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर गरिएको थियो । जगर्शका तर्फबाट अध्यक्ष प्रियबन्धु न्यौपाने र अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।
भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत मायादेवी गाउँपालिका–८, लुम्बिनीरोडमा संचालित सिटी हस्पिटल निजी क्षेत्रबाट संचालित अत्याधुनिक उपकरण जडित अस्पताल हो । सुविधा सम्पन्न र गुणस्तरी सेवा प्रवाह गरिरहेको अस्पतालसँग उपचारमा छुट सम्झौता गर्न पाउँदा खुशी लागेको जगर्शका अध्यक्ष न्यौपानेले बताए ।
सम्झौता अनुसार जगर्शमा आबद्ध सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा छुट हुनेछ । सम्झौता दुई वर्षका लागि गरिएको छ । त्यसपछि सम्झौता नविकरण गर्नुपर्ने छ ।
सम्झौता अनुसार जगर्शका सदस्यहरुलाई ओपडी सेवामा १५, शल्यक्रिया (अप्रेशन) मा १०, ल्याब जाँचमा १५, जनरल बेड चार्जमा १०, क्याबिन बेड चार्जमा १०, भिडियो एक्स–रे तथा एक्स–रेमा १०, ई.सि.जि.मा १५, सिटी स्क्यानमा १०, फिजियोथेरापी सेवामा १५ र मुटुको भिडियो (ईको) मा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक पौडेलका अनुसार छुट सुविधा लिनका लागि जगर्श ग्रुपमा आबद्ध सदस्यहरुले सदस्यता परिचयपत्रको फोटोकपी वा कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ । ‘सम्झौता २०८२ वैशाख १५ गतेदेखि लागू हुनेछ । यसको अवधि २ वर्ष रहनेछ’, पौडेलले भने, ‘दुई वर्षपछि पुनः सम्झौता नविकरण गर्ने गरी हाललाई सहमती गरिएको छ ।’
जगर्श अध्यक्ष न्यौपाने यो छुट सुविधाले सम्पूर्ण जगर्शहरुमा खुशी मिलेको बताए । जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ गर्ने मानिसहरुको समूह हो । सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा जगर्शका पूर्वअध्यक्ष विकासकुमार सेन, सचिव अनिल केसी, सदस्य थिरेन्द्रकुमार श्रेष्ठ, सिटी हस्पिटलका अप्रेशन म्यानेजर विनोद चालिसे लगायतको उपस्थिति थयो ।








प्रतिकृया दिनुहोस्