बाँकेको भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण


बाँके– बाँकेस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि राहत भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौंको सहकार्यमा मंगलबारदेखि उक्त सेवा अस्पतालमा सुरु भएको हो । लुम्बिनी प्रदेशमै पहिलो पटक उक्त अस्पतालमा यस्तो सेवा सुरु गरिएको हो ।
पहिलोपटक मंगलबार दुई जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले बताए । बर्दियाको बाँसगढी नगरपालिका–८, का ३७ वर्षीय पुरुष र महोत्तरीको औरही–२ का ४० वर्षीय पुरुषमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएका थियो ।
उनकाअनुसार दुवैजना बिरामीलाई उनीहरुका श्रीमतीले मिर्गौला दान गरेका थिए । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एकजना बिरामीले काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टोलीसहित भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ सर्जन डा. दीपेश गुप्ता र युरो सर्जन डा. अञ्जित फुयाालसहितको विशेषज्ञ चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो ।
नेफ्रोलोजीतर्फ डा.सौरभ हमाल र डा.पारस श्रेष्ठसहितको कार्डियोलोजिष्ट, रेडियोलोजिष्ट जस्ता विशेषज्ञ चिकित्सकको आवश्यक जनशक्ति पनि साथमै रहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले सुनाए । यसका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्व १४–१५ जना विशेषज्ञ चिकित्सकको टोली नेपालगन्ज आएको थियो । मानव अङ्ग प्रत्यारोपणका लागि अस्पताललाई स्वास्थ्य सेवा विभागले गत चैत २८ गते अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठक बसेर सहमति दिने निर्णय गरेको र वैशाख ५ गते सहमतिको पत्र अस्पतालमा प्राप्त भएको थियो ।
त्यसअघि केन्द्रबाट एउटा टोली भेरी अस्पताल आएर स्थलगत अनुगमन, अवलोकन तथा निरीक्षण गरेर काठमाडौं फर्किएको थियो । अस्पतालमा अब महिनामा एक जनामा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाइएको अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. सङ्केत रिसालले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा नयाँ अपरेशन थिएटर तयार गरिएको छ । सूचना अधिकारी रिसालका अनुसार एकैपटकमा दुई जना बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न मिल्ने गरी चार शय्याको आईसीयु वार्ड सञ्चालन गरिएको छ । दुई शय्या बिरामीका लागि र दुई शय्या मिर्गौला दाताका लागि गरी चारवटा आईसीयु बेडसहितको वार्ड सञ्चालनमा ल्याइएको हो ।








प्रतिकृया दिनुहोस्