रूपन्देहीको बेथरीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण सुरु


भैरहवा– पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण सुरु भएको छ । भैरहवा तथा अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो ।
बुधबार उक्त अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका छन् । संचालक अर्जुन पौडेलका अनुसार क्यान्सर रोगको उपचार तथा गुणस्तरीय र सस्तोमा सेवा प्रवाह गर्ने लक्ष्यका साथ अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शय्याको हुनेछ छ ।
डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल दुई चरणमा निर्माणको काम गरिनेछ । ‘पहिलो चरणमा ५० बेडको अस्पताल बनाइनेछ’, पौडेलले भने, ‘यो डेढ वर्षभित्रै संचालन हुनेछ ।’ उनका अनुसार दोस्रो चरणमा थप ५० बेढ गरी एक सय बेडको अस्पताल बनाइने छ ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो । नारायणगढ पश्चिममा नेपालमा क्यान्सर उपचारका लागि सुविधासम्पन्न कुनै अस्पताल छैनन् । यो अस्पतालले पश्चिम नेपालसँगै छिमेकी मुलुकका विरामीलाई उपचारमा सहजता ल्याउनेछ ।








प्रतिकृया दिनुहोस्