May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषयः मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताएका छन् । बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरी सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए ।

Advertisement

पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उनको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको जनाए ।

‘प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसदमा छलफल गरेँ । संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौं’, उनले भने, ‘म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ । अहिले क्यान्सरलाई जितेर तपाईंहरूको माझमा छु । रोगले च्यापेको बेलामा के–के भोग्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । हामी बिरामीको पक्षमा काम गर्छौं र गरिरहेका छौं ।’

उनले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले अहिले प्रदेश सरकारले हरेक क्यान्सर विरामीलाई वार्षिक २ लाख रुपैयाँ सहयोग गर्दै आएको जनाए । स्वदेशमै उपचार गराउने र सरकारले सहयोग का लागि सिफारिस गरेका ८ सय क्यान्सर विरामी रहेको उनले बताए । यसमा प्रदेश सरकारले १६ करोड रुपैयाँ बजेट छुट्याएको जनाए । अस्पतालसम्म आउनका लागि आवश्यक सडक लगायतका पूर्वाधारमा सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

लुम्बिनी प्रदेशसभा सदस्य वसिउद्दिन खान, प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले क्यान्सर उपचार निकै खर्चिलो भएकाले सकभर रोग लाग्न नदिन आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । उनीहरुले निजी क्षेत्रले पश्चिम नेपालमै सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै उपकरण र दक्ष चिकित्सक राखेर सेवा सुरु गर्न सुझाव दिए । संचालक अर्जुन पौडेलका अनुसार क्यान्सर रोगको उपचार तथा गुणस्तरीय र सस्तोमा सेवा प्रवाह गर्ने लक्ष्यका साथ अस्पताल निर्माण थालिएको हो ।