April 22, 2025, Tuesday
२०८२ बैशाख ९

झण्डावाल गाडीको मोह नभएका मन्त्री

भैरहवा– नेपालमा धेरै राजनीतिज्ञ उनीहरुको सुविधा मोहका कारण आलोचित छन् । सरकारले सुविधाका लागि छुट्टयाएका गाडीले नपुगेर धेरै मन्त्रीले विभिन्न परियोजानका सवारी साधन प्रयोग गरेको भन्दैं आलोचित हुने गरेका छन् । आफूमात्र नभएर परिवारका सदस्य र आफन्तका लागि सुविधा पुर्याउन होड जस्तै हुने गरेको छ ।

Advertisement

यस्तोमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार फरक देखिएका छन् । सादगी पहिरनमा देखिने कलवारलाई सवारी साधनको उपयोगप्रति कुनै मोहन छैन । हुन त उनका लागि मन्त्रीले चढ्ने झण्डावाल स्कार्पियो गाडीको सुविधा छ । तर, ७१ वर्षीय यी नेतालाई बस र मोटरसाइकलमै यात्रा प्यारो लाग्छ ।

उनको पहिरन र सेताम्य कपालले भीडमा पनि उनी अरुभन्दा भिन्दैं देखिन्छन् । सेतो धोती र कुर्तामाथि आस्कोट उनको सधैंको पहिरन हो । धोतीको तल खसेको टुप्पो पनिमाथि आस्कोटको गोजीमा झुण्ड्याउँछन् । यही पहिरनले उनको पहिचान स्थापित छ । अर्को विशेषता भनेको उच्च ओहदावाललाई मात्र होइन, झुपडीमा बस्ने भुइँमान्छेलाई पनि उनी सधैं हात जोडेर आदर सम्मान गर्छन् ।

सन्त र सालिन स्वभावका उनी सन्तु उपनामले पनि चिनिन्छन् । केही दिन अघि उनीसित यात्रा गर्नेक्रममा कलवारले सरकारले दिएको झण्डावाल गाडी प्रयोग गरेनन् । आफ्नो सुविधा छाडेर वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनी प्रदेशमा संचालित सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अध्ययन अवलोकन गर्न बस यात्रामै निस्किएका हुन् ।

मन्त्री कलवारले लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीको करिब ८ सय किमि यात्रा बसमै गरेका थिए । प्रदेशको कृषि, वन र वातावरण समितिका पदाधिकारी, मन्न्त्रालयका अधिकारी, वनविज्ञ र सरोकारवालालाई लिएर हिँडेको बसमा उनी पनि सवार थिए । मन्त्रीले आफ्नै नेतृत्वमा ३ दिन बसमा यात्रा गर्दै ६ जिल्लाका १२ सामुदायिक, साझेदारी र चक्ला वनको अनुगमन गरे ।

उपझोक्तासँग अन्तरत्र्रिया गर्दै वनका बारेमा जिज्ञासा राखे । ‘राम्राभन्दा नराम्रा कुरा धेरै आउँथ्यो,’ मन्त्री कलवारले भने, ‘कसरी वन व्यवस्थापन गरिएको रहेछ भनेर हेर्न फिल्डमै उत्रिएको हुँ । त्यसमा पनि झण्डा हल्लाउँदै पुग्नुभन्दा सर्वसाधारण जस्तै बनेर पुग्दा वास्तविक कुरा थाहा हुने रहेछ ।’

मन्त्रालयले वन अवलोकनका लागि बस रिजर्भ गरेको थियो । त्यही बसमा सवार भएर वन अवलोकन भ्रमण गरेको मन्त्री कलवारले सुनाए । आफूले यसअघि ३ जना वनमन्त्रीलाई मन्त्रालयमा स्वागत गरेर पद बहाली गराए पनि कलवारजत्तिको सरल र सामान्य मन्त्री अर्को नदेखेको मन्त्रालयका सचिव मोहनराज काफ्लेले सुनाए ।

‘मन्त्रीज्यूमा वनबारे जान्ने र बुझ्ने जिज्ञासा प्रचूर रहेछ,’ उनले भने, ‘उदाहरणीय काम गरेर देखाउने मनैबाट इच्छा छ । कर्मचारीसँगै मन्त्री एउटै बसमा हिँडेर अरुलाई असल सन्देश दिन खोज्नु भएझैं लाग्यो ।’

नवलपरासीको प्रतापपुर गाउँपालिका–६, गुठिप्रसौनी घर भएका उनलाई जिल्लावासीले ‘किसान नेता’को पनि उपनाम दिएका छन् । सधैं किसानका मुद्दा उठाउँदै आएका कलवारको राजनीतिक यात्रा किसान पृष्ठभूमिबाटै अघि बढेको हो । ‘उहाँ प्रायः बस र मोटरसाइकलमै यात्रा गर्न रुचाउनु हुन्छ,’ मन्त्रीका स्वकीय सचिव मनोज सिंहले भने ।

गत कात्तिक ७ गते मुख्यमन्त्री चेतनारायण आचार्यले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई कांग्रेसको कोटाबाट वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।