April 22, 2025, Tuesday
२०८२ बैशाख ९

`नयाँ वर्षले सबैमा नयाँ सोच, जोश र जाँगर सिर्जना गराेस्´

बुटवल- लुम्बिनी प्रदेशका सभामुख तुलारम घर्ती मगरले कानुन निर्माण तथा प्रदेश सभाको कार्य सम्पादनको सन्दर्भमा २०८१ सन्तोषजनक रहेको जनाएका छन् । उनले प्रशासनिक संरचनाको महत्वपूर्ण अंग कर्मचारी र त्यससँग सम्वन्धी ऐन तयार गरी कार्यान्वयनमा ल्याउनु, संघीय संरचनाको लागि नीति तथा आवस्यक कानुन बनाई कार्यान्वयन हुनु पनि सफलताको विषय रहेको बताए ।

Advertisement

नयाँ बर्ष २०८२ को पावन अवसरमा साेमबार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले प्रदेश नितान्त नयाँ संरचना भए तापनि प्रदेशबासी जनताको साथ, सहयोग र विश्वासले लुम्बिनी प्रदेश जनमानसमा छिट्टै स्थापित हुनु महत्वपूर्ण उपलब्धी भएको जनाएका छन् । `महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथि नै गम्भीर प्रश्न उठिरहेको अवस्थामा यसको रक्षा र विकासमा सबैको चासो, चिन्ता, साथ र सहकार्य आवश्यक छ´, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, `संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अरु हुन सक्दैन । यो नै नेपाली जनताको विचार र भावना बोकेको व्यवस्था हो ।´

संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वय गर्दै जनाताको जनजीविकालाई समेत सम्वोधन गर्नु पर्ने सभामुखले खाँचो औल्याएका छन् । उनले संघीयता कार्यान्वयनका लागि बनाइएका नीति, ऐन, कानून कार्यान्वयनलाई उच्च प्राथमिकता दिँदै जनजीविका र जनसरोकारका विषयलाई समेट्न आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सन्दर्भमा नीतिगत पहल कदमी लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सभा प्रदेशलाई आवश्यक पर्ने नीतिगत र कानुनी संरचना निर्माणको दृष्टिले निकै महत्वपूर्ण काम गरेको उल्लेख गर्दै प्रदेश सभाले निर्माण गरेका कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने दायित्व रहेको सन्देशमा उल्लेख गरेका छन् । `कानुन कार्यान्वयनको अवस्थाको विषयमा प्रदेश सभाबाट अध्ययन परिक्षण भईरहेको छ । शुभकामना सन्देशमा उल्लेख छ, `कानुन बनाएर मात्र हुँदैन, प्रभावकारी कार्यान्वयन भएन भने त्यसको कुनै सार्थकता रहँदैन भन्नेमा हामी स्पष्ट, सचेत र सजक छौं ।´

सभामुख घर्ती मगरले नयाँ वर्षले सबैमा नयाँ सोच, थप जोश, जाँगर सिर्जना गरी लुम्बिनी प्रदेशलाई समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।