April 22, 2025, Tuesday
२०८२ बैशाख ९

‘सिद्धार्थनगर उत्कृष्ट हुँदा सबैलाई खुशी मिलेको छ, उत्कृष्टताले निरन्तरता पाओस्’

भैरहवा- भैरहवा क्षेत्रका सरोकारवालाहरुले सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट सफल हुँदा यसले सबैलाई गौरवान्वित बनाएको बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल गर्न लागिपर्नु पर्नेमा जोड दिए ।

Advertisement

सिद्धार्थनगर नगरपालिकाले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले नगरपालिका पुरस्कृत हुँदा सबै नगरबासी खुशी भएको बताए । ‘यहाँहरुले यो उत्कृष्टतालाई निरन्तरता दिनुपर्छ । सबै एकजुट भएर काम गर्नुहोला पक्कै पनि अन्य क्षेत्रमा पनि सफलता मिल्छ’, उनले भने । उनले सिद्धार्थनगरमा पछिल्ला वर्षहरुमा विकासको कामले गति लिएको जनाए ।

नगर प्रमुख इश्तियाक अहम्मद खाँले नगर उत्कृष्ट बन्नुमा आमनगरबासी, कर्मचारी र जनप्रतिनिधि सबैको योगदान रहेको सुनाए । उनले नगरपालिकाको हरेक क्षेत्रलाई उत्कृष्टता प्रदान गर्ने गरी काम गरिरहेको जनाए । ‘शिक्षा, स्वास्थ्य, सहरी विकास, वातावरण, हरियाली लगायतका क्षेत्रमा हामीले निरन्तर काम गरिरहेका छौं’, उनले भने, ‘सबै काममा हामीले नगरबासीसँग सहकार्य गरेर काम गर्नेछौं ।’

पछिल्लो समय सिद्धार्थनगरमा बिकास निमार्णले तिव्रता पाएको उनले जनाए । नगरपालिकाको आन्तरिक आम्दानी तुलनात्मक रुपमा कम भइ आफ्नो सिमीत स्रोत साधनका बाबजुत पनि नगरपालिकाले एसियाली बिकास बैंक, संघीय र प्रदेश सरकाको सहयोगमा बिकासलाई अगाडि बढाइएको बताए । ‘यो बर्ष पनि एडीवीको सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम हुँदै छ । यसको लागि ठेक्का भैसकेको छ । छिट्टै नै निमार्ण कम्पनीले काम सुरु गर्ने छ’, उनले भने, ‘पछिल्ला बर्षहरुमा नगरपालिकालाई हामीले अधिकतम प्रबिधि मैत्री बनाउने प्रयास गरेका छौं ।’

राजश्व भुत्तानी अनलाइन मार्फत गराइएको, नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान गरिएको, सुरक्षा एवं दुर्घटना न्युनीकरणका लागि अटोमेटिक नम्वर प्लेट रेकर्डर सिस्टम तथा नगरका बिभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको उनले बताए । उज्यालो सहर बनाउने उदेश्य अनुसार स्मार्ट लाइट तथा सडक बक्ती जडानलाई निरन्तरता दिइएको जनाए । ‘नगरको सुन्दरीकरणका लागि नियमित सरसफाई पुष्प, बृक्षरोपण गरिएको छ । फोहोरमैला ब्यबस्थापन गर्ने सवारी साधनहरुको अनलाइनकरण गरिएको छ । यसबाट फोहोरका गाडी कहाँ छन् र आफ्नो घर आँगनमा कतिबेला आइपुग्छ भनेर सजिलैसँग नगरवासीले पत्ता लगाउने गरी मोवाइल एप निमार्ण गरिएको छ’, उनले भने ।

विद्यालयमा डिजिटल कक्षा निमार्ण गरिएको र बिपत व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायार हाइड्रहरु जडान गरिएको जनाए । बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाका प्रवेशद्वारामा गेट निमार्णको काम अन्तिम चरणमा पुगेको जनाए । ‘नगरपालिकाले यसको अलवा शिक्षा, स्वास्थ्य, शहकारी, कृषि लगायत सामाजिक बिकास र आर्थिक चलायमान हुने, आत्मनिर्भर हुने खालका लक्षित बर्गामा आयआर्जनमूलक कार्यक्रम गरेको छ’, उनले भने । उनले गौतमबुद्ध विमानस्थल संचालनका लागि नगरपालिकाले सबै किसिमका प्रयास गरिरहने जनाए ।

उपप्रमुख उमा अधिकारीले सबैको साझा प्रयासबाट नगरपालिका उत्कृष्ट भएको जनाइन् । उनले पछिल्लो समय नकरात्मकता बढीरहेको जनाउँदै यसलाई रोकेर सकारात्मकतामा ध्यान दिनुपर्ने बताइन् । नगरपालिकाले हरेक क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको उनको भनाई छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल, वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता मुक्तिनाथ यादव, नेपाली काँग्रेस सिद्धार्थनगर सभापति कोशिशबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर अध्यक्ष पर्शुराम पराजुली, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौैपाने, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भट्टराई, उद्योग ब्यापार संगठन, रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले बोल्दै नगरपालिका उत्कृष्ट हुँदा सबैलाई हौसला, खुशी र गौरव मिलेको बताए ।

उनीहरुले गौतमबुद्ध विमानस्थल संचालनमा पहल गर्नुपर्ने, नगरमा समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापन गर्नुपर्ने सुझाव दिए । यस्तै, शिक्षा, स्वास्थ्य, सामाजिक विकासमा पनि उत्कृष्टता हासिल गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । सुशासनलाई कायम राख्दै उत्कृष्टतालाइ निरन्तरता दिनुपर्ने उनीहरुको सुझाव थियो । केही समय अघि सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरु मध्येबाट उत्कृष्ट बनेको थियो ।