भैरहवामा राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

भैरहवा– भैरहवामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । शनिबार भैरहवा आएको महिला क्रिकेट टोलीले आइतबारदेखि सिद्धार्थ क्रिकेट मैदानमा नियमित प्रशिक्षण सुरु गरेको हो ।
आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टिम भैरहवा आएर प्रशिक्षणमा बसिसकेको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणले जानकारी दिए ।
महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एशिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण सुरु भएको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।
संघका कोषाध्यक्ष खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली बन्द प्रशिक्षणमा सहभागी छन् । उक्त टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म भैरहवामा बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु बन्द प्रशिक्षणपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्नेछ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ ।
प्रतिकृया दिनुहोस्