April 22, 2025, Tuesday
२०८२ बैशाख ९

भैरहवाले भुलेको पुगता भूमि जेतवन विहार, कसरी बन्यो आकर्षक ?

भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम संचालन भइरहेको भैरहवास्थित पुगताभूमि जेतवन बिहार । सिद्धार्थनगर–४, दोगहरामा रहेको यो बिहारले मुहार नै फेरेको छ । बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सुरु पछि यहाँ रंगरोगन गरिएको छ । सरसफाई गरी चिटिक्क सिंगारिएपछि बिहारले मुहार फेरेको हो । यहाँ वर्षौं अघि निर्माणका क्रममा रहेको भवनलाई समेत पूर्णता दिने काम भइरहेको छ ।

Advertisement

शैक्षिक कार्यक्रम सुरु पछि संरक्षणले थप सार्थकता पाएको छ । हुनतः यो बिहार यसअघि संरक्षण नभएको होइन् । तर, जति हुनुपर्ने हो, त्यति थिएन । पछिल्लो समय मर्मतसम्भार हुन थालेपछि पर्यटकीय आकर्षण बन्न सक्ने सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका पूर्वमहासचिव विजय पाण्डे बताउँछन् ।

केही दिन अघि सामाजिक संजाल फेसबुकमा फोटा राख्दै उनले लेखेका छन्, ‘भैरहवाले भुलेको पुगता भूमि जेतवन विहार, भैरहवाको निम्ति एउटा महत्वपूर्ण पर्यटकीय स्थल हुनसक्छ । यसको स्थापना गर्ने स्व. रामकृष्ण ताम्राकार र मलाइ यो पुन्य भूमिमा पुर्याउने मेरा मित्र स्व. मनोज उपाध्यायलाइ सम्झना । एक पटक जुनसुकै कारणले वा बिनाकारण भए पनि पुगौं, पुगता भूमि ।’

पाण्डेले फेसबुकमा फोटार राख्दै स्टाटस लेखेपछि भैरहवाका बौद्ध सम्प्रादयका केही अगुवा र स्थान्ीय पुगेर अवलोकन समेत गरेका छन् । आकर्षक तुल्याइएको बिहारमा पठनपाठन सुरुपछि थप चहलपहल बढेको छ । यहाँ गत असोज २९ मा भएको सम्झौताअनुसार विश्वविद्यालयले दीर्घकालीन तथा अल्पकालीन प्रकृतिका शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.शुवर्णलाल बज्राचार्य र जेतवन बिहारका अध्यक्ष तथा बिहार प्रमुख भिक्षु समितबीच २०८१ असोज २९ मा शैक्षिक कार्यक्रम संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार मंसिरदेखि जेतवन बिहारमा शैक्षिक कार्यक्रम संचालन भइरहेको विश्वविद्यालयले जेतवन बिहार शैक्षिक कार्यक्रम प्रमुख मनोजकुमार रिजालले बताए ।

बिहारलाई भैरहवाको नयाँ शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले विभिन्न भाषा पढाइ भइरहेको छ । खासगरी यहाँ चाइनिज भाषा पढ्न रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँबाट विद्यार्थीहरु आएका छन् । संरचनागत रुपमा आकर्षक बनाइएकाले भैरहवा र लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई यहाँ पुर्याउन सके बिहार र आसपासको पर्यटकीय विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । शैक्षिक कार्यक्रम सुरुपछि विभिन्न संघसंस्था, व्यक्ति, स्थानीय तह, विश्वविद्यालय लगायतले यहाँ सहयोग गरेका छन् । त्यसपछि बिहार चिटिक्क बनेको हो । बिहार सुन्दरीकरण भएसँगै यहाँ पर्यटकीय आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।


सबै तस्बिरहरू: विजय पाण्डेको फेसबुकबाट