पाँच बुँदे माग राखेर तातोपानी-बेलहिया ४ सय किमी पदयात्रा

भैरहवा- विभिन्न पाँच बुँदे माग राख्दै एक पूर्वशिक्षकले ४ सय किमि पदयात्रा गरेका छन् । सर्लाहीका नित्यानन्द शर्मा (कँडेल)ले उत्तर–दक्षिण पदयात्रा गेका हुन् । सिन्धुपाल्चोकको तातोपानी नाकादेखि रुपन्देहीको बेलहिया नाकासम्म पदयात्रा गरेको उनले बताए । शुक्रबार २३ औं दिनका दिन उनी बेलहिया नाकामा आइपुगेका हुन् । यो क्रममा ४ सय किमी पदयात्रा गरेको उनले बताए ।
७० वर्षीया शर्मा सर्लाहीको बागमती नगरपालिका–११, पुतलीचोकका बासिन्दा हुन् । पूर्वी नवलपरासीमा जन्मिएका उनले विभिन्न विद्यालयलमा तीन दशक शिक्षण पेसामा आबद्ध भएका थिए । प्रावि तहबाट शिक्षण पेसा सुरु गरेका उनले ३० वर्षे सेवा अवधिका कारण २०६९ मा मावि तहबाट अवकास पाए । नेपाली र सामाजिक विषयका पूर्व शिक्षक उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुलुकमा ब्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै अघिल्लो वर्षदेखि पदयात्रा थालेका हुन् ।
उनले गत वर्ष मेची–महाकाली पदयात्रा गरेका थिए । ‘५३ दिनमा उक्त पदयात्रा गरेको थिएँ’, उनले भने, ‘मुलुक समृद्ध होला, नेतृत्व तहमा बस्ने सुध्रिएलान भनेको अझै सुध्रिएनन्, त्यसैले यसपटक उत्तर–दक्षिण पदयात्रा गरेँ । उनले कर्मठ, राष्ट्रबादी नेपाली नागरिकहरुको तर्फबाट नेपाल सरकार समक्ष प्रस्तुत माग विवरण भनेर लेखिएको पाँचबुदे मागपत्रसहितको प्लेकार्ड घाँटीमा झुन्ड्याएर, हातमा राष्ट्रिय झण्डा र कम्मरमा खुर्पेटो भिरेर पदयात्रा गरेका थिए । चैत्र ६ गते सुरु पदयात्रा बेलहिया नाकामा आएसँगै टुंगिएको उनले जानकारी दिए ।
शर्माले नेपालको संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, नेपालको सुस्ता, लिपुलेक, लिम्पियाधुरा, कालापनी लगायतका स्थानमा अतिक्रमित भूमि आधिकारिक रुपमा स्वदेशको स्वामित्वमा ल्याउनुपर्ने, राष्ट्रको सर्वोच्च पदमा आशिन राजनीतिक पदाधिकारीहरुले राज्यकोषको दुरुपयोग गरि विदेशमा उपचार गर्ने प्रवृति तथा पदमुक्त भए पश्चात् राज्यकोषबाट हुने भरण, पोषण सम्पूर्ण सेवा सुविधाहरु खारेज गरिनुपर्ने, देशमा व्याप्त भ्रष्टाचार एवं राष्ट्रघाती कदमहरुको निष्पक्ष रुपमा अनुसन्धान गरि कसुरको आधारमा कठोर सजायको व्यवस्था गर्नुपर्ने र भ्रष्टचारबाट आर्जित सम्पत्ति जफत गरि राज्यकोषमा दाखिला गर्नुपर्ने, नेपालका रुग्ण अवस्थाका उद्योगहरुलाई पुनःस्थापित गरी कृषि र वनस्पतिमा आधारित औषधि उद्योग साथै सुती कपडा र पशुजन्य ऊनी कपडा उद्योगहरुको स्थापना गर्नुपर्ने माग राखेका छन् ।
यात्राका क्रममा नागरिकस्तरबाट ठाउँठाउँमा आफूलाई सहयोग भएको सुनाए । तर, यात्रामा कठिनाई भने भएको जनाए । घामपानी, धुलो, धुँवा केही नभनी मुलुक सुधारका लागि आफूले पदयात्रा गरेको सुनाए । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आफैमा राम्रो र उच्चतम व्यवस्था भए पनि व्यवहारिक आचरण, कार्यान्वयन भने सही नभएको जनाए ।
‘नेतृत्वकै कारण लोकतन्त्रमा आँच आयो, यसैले मुलुक उन्नतीको मार्गमा अघि बढ्न सकेन’, उनले भने, ‘यसलाई सुधार गर्नुपर्छ नेतृत्व सुध्रिएर मुलुकको उन्नती प्रगती गर्न जरुरी छ ।’ पदयात्रा समापन पछि शर्मा शुक्रबार बस चढेर सर्लाही घरतर्फ फर्किएका छन् ।
प्रतिकृया दिनुहोस्