पंचकन्या परिसरमा निःशुल्क क्यान्सर परीक्षण शिविर, ४७७ जना लाभान्वित

भैरहवा- प्रतिष्ठित औद्योगिक घरना पंचकन्या समूहले उद्योग परिसरमा निःशुल्क क्यान्सर परीक्षण शिविर गरेको छ । स्थानीय बासिन्दा, उद्योगका कर्मचारी तथा रुपन्देही जिल्लाबासीलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । पंचकन्याको आयोजना, सिद्धार्थनगर सिटी हस्पिटल प्रालि र सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको सहकार्य तथा सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा भक्तपुर क्यान्सर हस्पिटलले समेत सहकार्य गरेको थियो ।
बुधबार तिलोत्तमा–१५, कोटिहवास्थित पंचकन्या परिसरमा आयोजित शिविरमा भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ चिकित्सक डा.उज्वल चालिसेको नेतृत्वमा १९ जनाको टिमले क्यान्सर परीक्षण गरेको थियो । शिविरमा सिटी हस्पिटलका चिकित्सकसहित ६ जनाको टिम पनि खटिएको थियो । पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले शिबिरमा निःशुल्क प्याप स्मेयर परीक्षण, स्तन क्यान्सर स्क्रिनिङ र अन्य क्यान्सर सम्बन्धी जाँच गरिएको बताए । यस्तै सहभागीलाई क्यान्सर सचेतना अभिबृद्धि समेत गरिएको थियो । शिविरमा ४७७ जना लाभान्वित भएका छन् ।
यीमध्ये महिला ४३३ जना र पुरुष ४४ जना छन् । महाप्रबन्धक साहुका अनुसार शिविरमा आएकामध्ये एकजनामा क्यान्सर देखिएको छ । ती विरामीलाई तत्काल उपचार गर्न सुझाव दिइएको छ भने आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । यस्तै, परीक्षण गराएका १९ जनामा क्यान्सरको लक्षण भेटिएको छ । ती १९ जनाको ल्याब परीक्षण रिपोर्ट आएपछि क्यान्सर हो–होइन एकीन हुने उनले बताए । साहुले शिविरमा सहभागीमध्ये ९५ प्रतिशतलाई निःशुल्क औषधि वितरण गरिएको जनाए ।
साहुले उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रत्येक वर्ष फराकिलो बनाउँदै लगेको बताए । गरिब तथा विपन्न र आमनागरिकको स्वास्थ्यलाई लक्षित गरेर शिविर आयोजना गरिएको उनले जनाए । रोग लाग्नै नदिने र लागिहालेमा त्यसको निदानका लागि सहयोग गर्ने उद्देश्यले शिविर संचालन गरिएको साहको भनाई छ । हरेक क्षेत्रलाई प्राथमिकीकरण गरी सहयोग र सहकार्य गर्दै आएको उनले बताए । आफूहरुको उद्देश्य भनेकै घातक रोग छ–छैन भन्ने पहिचान गराइ आगामी दिनमा सहज जीवनशैली विताउने वातावरण बनाउने प्रयास रहेको उनले जनाए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मानिसको स्वास्थ्य धनसम्पत्तिसँग तुलना हुन नसक्ने बताए । उनले उद्योगले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर निःशुल्क शिविर आयोजना गरी यस क्षेत्रका बासिन्दालाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन भूमिका खेलेको भन्दै प्रशंसा गरे । पंचकन्याले नाफा भन्दा समाजसेवालाई प्राथमिकता दिने गरेको भन्दै यसबाट धेरै स्थानीयहरु लाभान्वित भएको जनाए ।
स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको मानिसले पहिला आफ्नो प्रगती गर्ने र त्यसपछि परिवार हुँदै समाज र राष्ट्रलाई योगदान दिन सक्ने जनाए । खाँणले क्यान्सर जस्तो प्राणघातक रोग लागेमा धनसम्पत्तीसँगै मानिसको ज्यानसमेत जोखिममा पर्ने जनाउँदै यसबाट सबै सचेत बन्नुपर्ने बताए । शिविरमा परीक्षण गराई धेरै नागरिकले आफ्नो स्वास्थ्यप्रति सचेत रहने अवसर पाएको जनाउँदै बेलाबेला यस्ता शिविरहरु आयोजना गर्न आग्रह गरे । निजी क्षेत्रले गर्ने यस्ता सामाजिक कार्यमा नगरले सधै साथ र सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
श्रम कार्यालय, बुटवलका निमित्त प्रमुख ऋषिराम पन्थीले पंचकन्याले सधैं गौरव गर्ने काम गर्दै आएको जनाए । ‘यस्ता समाजिक कार्यमा तपाईं हामी सबैले सहयोग गर्नुपर्छ’, उनले भने । उनले रुपन्देहीमा व्यवस्थित रुपमा संचालन भएका उद्योगहरुमध्ये पंचकन्या एक नम्बरमा पर्ने बताए । पंचकन्याले नाफा मात्रै होइन्, स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण लगायतका क्षेत्रमा गौरव गर्न लायक काम गरेको उनको भनाई छ ।
सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले पछिल्लो समय क्यान्सर रोगी बढिरहेको जनाउँदै यसलाई रोकथाम र समयमै उपचारमा सहज होस् भनेर बेलाबेला यस्ता शिविर गर्दै आएको बताए । आफूहरुले यस क्षेत्र र आसपासका नागरिकलाई उपचार तथा परीक्षणमा सहजता होस् भनेर सुमित्रा मेमोरियल क्यान्सर अस्पताल संचालनको अन्तिम तयारीमा रहेको उनले जनाए ।
शिविरमा सहभागीहरुलाई सचेतनामूलक प्रशिक्षण दिँदै नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भट्टराईले व्यक्तिले आफ्नो खानपान र रहनसहनमा सुधार गरे क्यान्सर लगायतका रोगबाट बच्न सकिने जनाए । यदि क्यान्सर लागिहाले नआत्तित आग्रह गर्दै नेपालमै उपचार सम्भव रहेको जनाए । पत्रकार मनोरंजन शर्माले सकभर रोग लाग्न दिन नहुने र लागिहाले आत्मबद बलियो बनाई उपचारमा लाग्नु पर्ने बताए । उपचार खर्चिलो भए पनि विरामीलाई हौसला दिने र उपचार गरे कयौं वर्ष जीवन लम्बिन सक्ने उनले सुझाए ।
प्रतिकृया दिनुहोस्