लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु (फोटो फिचर)

लुम्बिनी– बुद्व जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु भएको छ । लुम्बिनीस्थित पवित्र शान्ति बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर पाठ सुरु भएको हो । बुधबारबाट सुरु त्रिपिटक वाचन फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।
त्रिपिटक वाचनको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । त्रिपिटक पाठ बिहान साढे ८ देखि साँझ ५ बजेसम्म चल्नेछ । अखिल नेपाल भिक्षु महासंघको आयोजना र लुम्बिनी विकास कोषको सहआयोजनामा सुरु त्रिपिटक वाचनमा पहिलो दिन सूत्र पिटक, दोस्रो दिन विनय पिटक र तेस्रो दिन अभिधर्म पिटक पाठ गरिनेछ ।
अखिल नेपाल भिक्षु महासंघ पूर्वअध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले बौद्ध धर्मग्रन्थ त्रिपिटकबारे धेरैलाई जानकारी दिन यो पाठ आयोजना गरिएको जनाए । पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि खुशीको कुरा भएको उनले बताए ।
१२ मुलुकका एक सय बढी विदेशी भिक्षु र भिक्षुणी सहभागी हुन आएका छन् । त्यस्तै ४ सय बढी नेपाली भिक्षु र गुरुमा सहभागी भएको आयोजक समितिका महासचिव भिक्षु निग्रोध महाअस्थवीरले बताए । त्रिपिटक पाठको उद्घाटन अघि विभिन्न झाँकीसहित मायादेवी मन्दिर परिसरसम्म र्याली निकालिएको थियो । कार्यक्रममा विभिन्न मुलुकका राजदूत लगायत विशिष्ट पाहुनाहरु समेत सहभागी थिए ।
प्रतिकृया दिनुहोस्