नेपाली सेनाद्वारा मध्य पृतना बुटवलमा बृहत् फोटो प्रदर्शनी


भैरहवा– महाशिवरात्री तथा २६२ औं सेना दिवसको अवसरमा नेपाली सेनाको रुपन्देहीको बुटवलस्थित मध्य पृतना हेडक्वार्टर ब्यारेक परिसरमा इतिहास झल्काउने बृहत् फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
सेनाको इतिहास, परम्परा, रीति लगायत सैनिकसित सम्बन्धित जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । फोटो प्रदर्शनीमार्फत् आम नागरिकलाई नेपाली सेनासँग सम्बन्धित जानकारी प्रदान गर्ने, सेनाले राष्ट्रिय अभिमान, एकता, आपसी सदभाव र विश्वास जगाउने विश्वास गरिएको छ । ‘गौरवपूर्ण परम्प्राबारे जानकारी गराएर सैनिक रीतिको जर्गेना र भावी पुस्तामा प्रेरणा जगाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो,’ सेनाको तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले भने, ‘प्रदर्शनीमा नेपाली सेनाका हरियार, इक्विपमेन्ट र तालिमको प्रदर्शनी भइरहेको छ ।’
साथै प्रदर्शनीमा बुटवलमा रहेको सैनिक महाविद्यालयका शैक्षिक गतिविधिको समेत प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । पृतनाका अनुसार मंगलबार दिउँसो एक बजेबाट तीन बजेसम्म परिसरमा रहेको फुटबल मैदानमा उक्त प्रदर्शन गरिएको छ । फोटो प्रदर्शन अवलोकनका लागि सर्वसाधरणका साथै सरकारी र निजी क्षेत्रका अगुवालाई आमन्त्रित गरिएको छ । जतिसक्दो धेरैले प्रदर्शन अवलोकन गरुन् भनेर सोमबारबाटै प्रचारप्रसार समेत गरिएको थियो ।








प्रतिकृया दिनुहोस्