लुम्बिनीमा ललितकला प्रदर्शनी सुरु, १८० कलाकृति प्रदर्शन

बुटवल– लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरे । चित्र, मुर्ति, लोककला मार्फत् लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेको आकृतिहरु राखिएका छन् । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । ‘लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ । कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पुर्याउँदा आम्दानी बढाउन सकिन्छ ।’
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत् ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवद्र्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्नेछन्’, उनले भने, ‘विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी सावित हुनेछन् ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवद्र्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए । उनका अनुसार विधेयक तर्जुमा प्रक्रिया जारी छ । ऐन सबै पक्षलाई समेटेर तयार पारिने उनले बताए । प्रदेश सरकार ललितकला लगायत सम्पूर्ण कलाक्षेत्रको समग्र विकासका लागि सकारात्मक रहेको समेत उनको भनाई छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए । उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवद्र्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे । उनले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको जनाए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले उपमहानगर क्षेत्र भित्रका स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरु सार्वजनिक स्थलमा आगामी दिनमा कोरिने बताए ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक दिनेश्वर महतो, नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले बोल्दै कलासंस्कृति संरक्षणमा जोड दिए । कलाकार नरबहादुर विकले कार्यक्रम स्थलमा २० मिनेटको अवधिमा कारेको चित्र मुख्यमन्त्री आचार्यलाई समेत हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्