May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

`लोकसेवा उत्तीर्ण हुन तपस्या नै गरेँ´

Advertisement

भैरहवा- लोकसेवा उत्तीर्ण भएर सरकारी जागिर खान कहाँ सजिलो हुन्छ र ? त्यसका लागि लगनका साथै मिहेनत जरुरी छ । सरकारी जागिरका लागि चासोमात्र राखेर पुग्दैन । त्यसका लागि तपस्या नै गर्नुपर्छ । दृढ अठोटसाथ गरिने यस्तो तपस्याबाट मात्र लोकसेवामा सफलता मिल्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा बताउँछन् ।

Advertisement

उनी आफैले लोकसेवा प्रवेशका लागि तपश्या नै गर्नुपरेको बताए ।  बाग्लुङमा जन्मिएका उनले ६ महिना गुप्तवास बसेर पढेपछि मात्रै सफलता मिलेको बताए । बाग्लुङको सिमानामा रहेको गुल्मीको मुसिकोटस्थित महेन्द्र आदर्श माविमा विद्यालय तह अध्ययन गरेका थिए ।

बाल्यककाल अभावमा गुजारेका उनलाई बुवाको साथ थिएन । त्यसैले आमाले दुःख गरेर पढाएको उनले बताए । ‘मामाघरबाट अध्ययनका लागि प्रोत्साहन मिल्याे´, उनले भने, `जसले गर्दा कक्षा १० उत्तीर्ण गरेपछि अध्ययनका लागि उनी काठमाडौं गए ।’ काठमाडाैं पुगेर उच्चशिक्षा अगाडि बढाएका उनी त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिहेका थिए ।

त्यही बेला २०७१ सालमा उनले लोकसेवामा प्रवेश गरे । उनी सामेल भएका अफिसर, खरिदार, सुब्बाका सबै परीक्षामा लगातार उत्तीर्ण भए । `मैले कतै लोकसेवाको कक्षा लिएर पढेको होइन,’ उनले भने, नितान्त व्यक्तिगत प्रयासमा लोकसेवा पास गरें ।’ सुरुमा खरिदारको परीक्षामा एकपटक अनुत्तीर्ण भएका थिए ।

`त्यसपछि झन लोकसेवा पास नगरी छाडदिन भने ईख बस्यो । कडा परिश्रम गरे,’ उनले भने, `अर्कोपटक पास गरे ।’ सरकारी जागिरे भएर उनी बाग्लुङ पुगे। त्यहाँ २०७१ सालबाट बुर्तिवाङ ईलाका प्रशासन प्रमुखका रुपमा काम थाले । तीन वर्ष त्यहाँ सेवा गरेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा सरुवा भयो । प्रशासकीय अधिकृतका रुपमा ३ वर्ष काम गरे । त्यसक्रममा  ७ महिना जिल्ला कारागार प्रमुख भए ।

२०७९ सालमा उपसचिवको परीक्षा पास गरेपछि उनी सैनामैना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बने । त्यहाँ २१ महिना काम गरेपछि उनी सिद्धार्थनगर नगरपालिकामा कार्यरत छन् । सानो छंदा डाक्टर बन्ने सपना बुनेका उनले १२ कक्षासम्म बायोलोजी पढे । त्यसपछि पनि फिजिक्स विषय लिएर पढेका उनले अन्त्यमा सरकारी सेवामा प्रवेश गरे । `सरकारी सेवाबारे सोचेको थिएन,’ उनले भने, `यो सपना बाहिरको जागिर भयो ।’

थापा अहिले पनि एन्ड्रोइड मोवाइल बोक्दैनन् । उनी फोन उठाउन र डायल गर्न मिल्ने फोन बोक्छन् । इमेल र सामाजिक सञ्जाल चलाउनु पर्यो भने ल्यापटप प्रयोग गर्छन् । काठमाडौंमा दु:ख गरेर पढिरहेका बेला विदामा घर जान साढे ४ सय रुपैयाँ गाडी भाडासम्म नभएका दिन सम्झिँदा कहाली लाग्ने उनले बताए । अहिलेसम्म आइपुग्दा छात्रवृत्तिमै पढेका उनले त्यो खर्च बचाउन सक्दा पनि पढ्ने आशा बढ्दै गएको बताए ।

२०६० सालमा गुल्मी जिल्लामा एसएलसीमा जिल्ला प्रथम भएका थापालाई चिकित्सा क्षेत्रमा साह्रै रुचि थियो । बुवा भारतीय सेनामा कार्यरत भए पनि उनलाइ मुलुकमै केही गरौं भन्ने लाग्थ्यो । ब्युरोक्रेसी, मेडिकल क्षेत्रमा काम गर्न उनी विद्यालय तहमा हाजिरी जवाफ प्रतियोगितामा भाग लिंदा प्रथम हुने, शिक्षकले ठुलो मान्छे बन्छौ भनेर भन्ने गरेको उनलाई याद छ । आफूले काम गर्ने सिलसिलामा जहाँ पुगेपनि त्यहाँका जनताले दिएको सम्मान र उनीहरुका लागि आफूले कार्यालय स्तरबाट हुन सक्ने काममा गरेको सहायता नै यो पेशाको उपलब्धी भएको उनको भनाई छ  ।

(थापा सिद्धार्थनगर नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत हुन् ।) – कुराकानीमा आधारित ।