भैरहवा आएर राजेन्द्र महतोले भने– आफ्ना कर्तुत लुकाउन काँग्रेस–एमाले मिले

भैरहवा– राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस, एमाले र माओवादीले यो देशमा लुट्ने काम गरेको आरोप लगाएका छन् । उनले प्रकृतिले बरदान दिएको देश आज यी दलहरुकै कारण दुनियाँकै कंगाल भएको दावी गरे । पानीको मात्रै सही प्रयोग गरेको भए देश आज सम्पन्न मुलुक बन्ने जनाउँदै तर नेपालमा राष्ट्रवाद नहुँदा मुलुक कंगाल भएको जिकिर गरे ।
शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका महतोले अहिले देशको अवस्था कुनै पनि किसिमबाट ठीक नभएको जनाए । ‘लोकतान्त्रिक मूल्य मान्यताका लागि नेपाली जनताले पटक–पटक संघर्ष गरे । तरm आज देशमा लोकतन्त्रमाथि नै संकट ल्याउने प्रयास सुरु भएको छ’, उनले भने, ‘त्यो पनि आफूलाई लोकतन्त्रवादी भन्ने काँग्रेस एमालेबाटै । यो मुलुकका लागि खतरामा विषय हो ।
सारा लोकतान्त्रिक मूल्यमान्यतालाई दाउमा राखेर देशलाई निरंकुशतन्त्र र अधियनाकवादतर्फ काँग्रेस–एमालेले धकेल्ने काम गरेको उनले जनाए । ‘सत्ता र प्रतिपक्ष देखिएन दुबै दल जे गरे पनि हुन्छ मान्यताबाट अघि बढे । अधिनायकवाद लाद्न खोजे’, उनले भने । उनले मुलुकलाई जसरी हुन्छ भ्रष्टाचारमा डुबाउने र कंगाल बनाई आफ्ना कर्तुत लुकाउन काँग्रेस–एमाले मिलेको दावी गरे ।
जनतालाई थिचोमिचो गरी अध्यादेशका आधारमा देश चालाउने काम भइरहेको भन्दै यो लोकतन्त्रका लागि खतरा, मनपरीतन्त्र र निरंकुशतन्त्रलाई बढवा दिने काम भएको दावी उनको छ । अहिले देशको आर्थिक, समाजिक र राजनीतिक अवस्था राम्रो नभएको उनले बताए । उनले सरकारले ल्याएको संचार विधेयक लोकतन्त्रका लागि सही नभएको जनाए । ‘आफ्ना विरोधीको मुख थुन्न र जे गरे पनि छुट पाउन संचार विधेयक ल्याइएको हो’, उनले भने ।
महतोले मशेधवादी दलहरुबाट मुलुकले निकास नपाउने भएकाले आफूले राष्ट्रिय रुपमा आन्दोलनलाई अगाडि बढाउन राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन गरेर अघि बढेको बताए । पृथ्वीनारायण शाहले बनाएको भन्दा मुलुक ठीक उल्टो बनेको जनाए । नेपाल साझा नेपालको फूलबारी नबनेको बताउँदै पाथीभरामा केबलकार निर्माण गर्दा चन्द्र ढकाललाई फाइदा भए पनि स्थानीयलाई नहुने बरु हाम्रो संस्कृतिको ह्रास भई पर्यटकीय गतिविधि घट्ने दावी उनको छ । उनले मुलुकमा होली वाइन सभ्यता ल्याएर हाम्रो संस्कृति, परम्परा र सभ्यता नबच्ने जनाए ।
७० वर्षमा ७ वटा संविधान बनाउने नेपाल विश्वमै पहिलो देश भएको जनाउँदै अहिलेको संविधान जनताको पक्षमा नरहेको जिकिर गरे । यस्तो संविधान नटिक्ने उनको दावी छ । ‘अहिले संविधान संशोधनका कुराहरु आए पनि यो विषय काँग्रेस एमाले जस्ता लोभीपापीको हातमा रहेकाले संशोधन हुँदैन’, उनले भने ।
अर्को प्रसंगमा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी धन्दामा लागेको उनले आरोप लगाए । जनताले गरेको स–सानो बचत रकम दुरुपयोग हुनु गलत भएको भन्दै रवि यसमा संलग्न भएको पुष्टि भएको दावी उनको छ । तर, यही बहानामा सरकारले रविमाथि बदला लिएको कुरा चाहिँ सत्य भएको महतोको भनाई छ ।
प्रतिकृया दिनुहोस्