रूपन्देही अदालतमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन गरेको अभियोग लागेका लामिछाने अदालतमा उपस्थित भएपछि थुनछेक बहस सरु भएको हो ।
बुधवार मुद्दामा लामिछानेको बयान पश्चात बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा छाडिएको थियो । जसअनुसार लामिछाने करिब साढे १० बजे अदालतमा हाजिर भएका थिए ।
अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका स्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले पब्लिक कुरालाई बताए ।
मुद्दामा वादी (पीडित)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालका न्यायाधिवक्ता प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, बसन्त पोख्रेलले लगायतले बहस गर्नेछन् । यस्तै, महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट पनि रविका विपक्षमा बहस गर्न वकिल खटाएको छ । बुटवलबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गर्न भैरहवा आएका छन् ।
त्यस्तै प्रतिवादी रहेका लामिछानेको तर्फबाट सुशिलदेव पन्तको नेतृत्वमा बहस गर्ने तयारी छ । दुबैतर्फको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि इजलासबाट पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधरण तारेखमा राख्ने आदेश आउनेछ ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन् ।
प्रतिकृया दिनुहोस्