रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित, थुनछेक बहसको तयारी

भैरहवा– रुपन्देही जिल्ला अदालतमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस हुँदैछ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग अदालतमा दर्ता पछि रवि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न मंगलबार रुपन्देही आएका थिए ।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान भएको थियो । समय अभावले उनको हिजो थुनछेक बहस हुन सकेन । त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएका थिए ।
सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेको आज जिल्ला न्यायाधीश योगीकै इजलासमा बहस हुनेछ । थुनछेक बहसका लागि लामिछाने अदालत पुगिसकेका छन् ।
अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल लगायतले बहस गर्ने जनाए । यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।
प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशीलदेव पन्तको नेतृत्वका बहस गर्नेछन् । उनीहरूसँगै काठमाडौँ र पोखरा बहस गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराज घिमिरेले पब्लिक कुरासँग बताए ।
माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु –जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
प्रतिकृया दिनुहोस्