April 22, 2025, Tuesday
२०८२ बैशाख ९

रविको भैरहवामा बयान सकियो, थुनछेक बहस नभएपछि श्रीमती र कानून व्यवसायीको जिम्मा

भैहरवा– रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई श्रीमती र उनका कानून व्यवसायीको जिम्मा लगाइएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता पछि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए ।

Advertisement

बुधबार जिल्ला अदालतमा दिनभर रविको बयान भएको थियो । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान सकिए पनि समय अभावले थुनछेक बहस नभएपछि उनलाई श्रीमती निकिता पौडेल लामिछाने र उनका कानून व्यवसायी सुशीलदेव पन्तको जिम्मा लगाएर छाडिएको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार लामिछानेबिरुद्ध जिल्ला अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन् । लामिछाने बिहीबार अदालत खुलेपछि पुनः उपस्थित हुनेछन् । त्यसपछि उनको थुनछेक बहस हुनेछ ।

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने, छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो । २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड रुपैयाँ व्यक्तिगत बिगो तोकिएको छ । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा गितेन्द्रबाबु राईसहित पूरक अभियोजनका २२ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । लामिछाने आफ्नो मुद्दाको प्रतिवादका लागि मंगलबारै भैरहवा आएका थिए । उनी भैरहवाको देवकोटाचोकको एक होटलमा बसेका छन् ।