जेसीआई सिद्धार्थ नेपालको ५०औं पदास्थापन, युवा पलायन रोक्नु मुख्य चुनौतिः मन्त्री तिमिल्सिना

भैरहवा– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुलुकको बिकासमा धेरै योगदान गर्न सक्ने युवा पुस्ता पलायनले गम्भीर अवस्था निम्त्याउन सक्ने बताएका छन् । तथ्यांकमा देखिने ठूलो युवा समूह मुलुकमा नरहेको उल्लेख गर्दै उनले कति दिनसम्म रेमिट्यान्सको भरमा मुलुक चलाउने भनेर प्रश्न गरे ।
जेसीआई सिद्धार्थ नेपाल, भैरहवाको ५० औं पदास्थापन समारोहमा बोल्दैं उनले युवालाई मुलुकमा रोक्न नसकिएको र उद्यम क्षेत्र धरासायी बनिरहेकोमा चिन्ता व्यक्त गरे । ‘मुलुकको ठूलो युवा समूह कहाँ छ,’ उनले भने, ‘अहिले कतै देख्न सकिएको छैन ।’ अधिकांश युवा त्रिभुवन विमानस्थलबाट बाहिरिएका कारण मुलुकमा संख्या कमी भएको बताए । ‘मुलुकमा १ करोड २४ लाख १२ हजार युवा रहेको तथ्यांक छ,’ उनले भने, ‘तर, ती सबै मुलुकमा छैनन् ।’ लुम्बिनी प्रदेशमा २२ लाख ८ हजार ५३ युवा उमेरका व्यक्ति रहेको उल्लेख गरे । ‘गुणस्तरीय जनशक्ति मुलुक बाहिर छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘युवा रोक्नेबारे राज्यले बेलैंमा सोच्न सकेन ।’
अहिले गुणस्तरीय शिक्षाको खाँचो रहेको उनको भनाई छ । तर, अधिकांश विद्यालयको जोड स्तरीय शिक्षाभन्दा भवन निर्माणमा देखिएको उनले बताए । जताततैबाट भवनको मात्र माग आउने गरेको उनले बताए । ‘शिक्षकको ध्यान निर्माण र तालिमभत्तामा मात्र देखिन्छ,’ उनले भने, ‘स्तरीय शिक्षा अहिलेको आवश्यकता हो ।’ जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवा आवद्ध हुने भएकाले नेतृत्व र व्यक्तृत्व बिकासमा ठूलो योगदान रहेको उनले बताए । ‘नेतृत्व बिकाससँगै सामाजिक बिकासमा पनि केही न केही गर्न अनुरोध छ,’ उनले भने, ‘नेपालमा धेरै उदाहरणीय व्यक्ति जेसीआईबाटै उदाएका छन् ।’
सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले नेतृत्व र व्यक्तित्व बिकासमा जेसीआईको ठूलो भूमिका रहेको बताए । समाजमा अब्बल नेतृत्व स्थापनामा यस संस्थाको भूमिका रहेकोमा उनले प्रशंसा गरे । आगामी दिनमा सामाजिक कार्यमा केन्द्रित हुन उनले अनुरोध गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले स्वर्ण वर्ष पूरा गरेको जेसीआई सिद्धार्थले आगामी दिनमा राष्ट्रिय नेतृत्व हासिल गर्नुपर्ने बताए । त्यसका लागि तयारी गर्न नयाँ नेतृत्वसित आग्रह गरे । राष्ट्रिय नेतृत्व प्राप्तीका लागि सघाउन सिद्धार्थ नगरको निजी क्षेत्र तयार रहेको बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्जुन कुँवर, निवर्तमान अध्यक्ष दीपक काफ्ले, पूर्वअध्यक्ष मनोज भण्डारी, निर्वाचन आयुक्त ओमकुमार श्रेष्ठ, सिद्धार्थ लेडी जेसिज अध्यक्ष संगीता आचार्य, बरिष्ठ पत्रकार दीलिप भट्टराई, नवनिर्वाचित कोषाध्यक्ष सार्दुलमयुर कसौधन लगायतले बोल्दै जेसिज आन्दोलनलाई एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनीहरुले सिद्धार्थ जेसीजले समाजिक क्षेत्रमा गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै आउँदा दिनमा पनि यसलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताए ।
यसअघि पुस २० मा भएको जेसिआई सिद्धार्थको अधिवेशनबाट आगामी कार्यकालका लागि अर्जुन कुँवर अध्यक्ष निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको हो । जेसिजको कार्यकारी उपाध्यक्षमा रमेश पन्त र किसन पटवा, उपाध्यक्षमा सिद्धान्त खनाल र अर्जुन क्षेत्री, निर्देशकमा शम्भ नेपाल, हिमबहादुर खत्री क्षेत्री, रेमन्ड विश्वकर्मा, सन्जोग थापा लगायत चयन भएका थिए । पदस्थापन अवसरमा महासचिवमा अकाश पौडेल र कोषाध्यक्षमा सार्दुल मयुर कसौधनलाई मनोनीत गरिएको छ । कार्यक्रममा विभिन्न सन् २०२४ को कार्यकालमा विभिन्न क्षेत्रमा रहेर नेतृत्व गरी सहयोग गर्नेहरुलाई सम्मानीत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्