February 8, 2025, Saturday
२०८१ माघ २७

नेपाल–भारतका सशस्त्र प्रहरी बैठकः सीमा क्षेत्रका अवैध गतिविधि नियन्त्रण गर्ने प्रतिवद्धता

भैरहवा– नेपाल र भारतका सशस्त्र बलबीच सीमा क्षेत्रका अवैध गतिविधि नियन्त्रणमा सहकार्य गर्ने सहमती भएको छ । पाल्पाको बसन्तपुरस्थित कामाख्या मन्दिरमा शुक्रबार भएको दुई मुलुकका सशस्त्र बलको बैठकले यस्तो सहमती गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच बसन्तपुरमा समन्वयात्मक बैठक भएको हो । उक्त बैठकले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण, सीमा अपराधहरु जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधि लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा छलफल र साझा धारणा गराइएको छ ।

‘यी विषयमा विस्तृत रुपमा छलफल गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिइने सहमती भएको छ’, सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा, रुपन्देही प्रमुख आनन्द थापाले भने ।

पाल्पाको तिनाउ–३ स्थित लुम्बिनी केबलकार बुटवल हिलको सभाहलमा माघ ४ गते डिआईजी स्तरीय छैठौं समन्वयात्मक बैठक सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको उक्त समन्वयात्मक बैठकको नेतृत्व नेपालको तर्फबाट नं. ५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीपकुमार पालले गरेका थिए भने र भारततर्फबाट उक्त समकक्षी बैठकको नेतृत्व भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्र्वाटर लखीमपुर खिरीका डिआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वार्टर गोरखपुरका डिआईजी मुन्ना सिंहले गरेका थिए ।

बैठकमा नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना लगायत बाहिनी मातहत गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डरहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले छलफलको क्रममा उठेका सबै विषयहरुको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औल्याए । सो सम्बन्धमा समकक्षी निकायबाट भएको प्रतिवद्धताको प्रशंसा गर्दै थप सक्रियताका साथ कार्यक्षेत्रमा होमिन मातहत गणपतिहरुलाई निर्देशन दिए ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसिनाले नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले यस किसिमका नियमित बैठकहरुको संचालनले नेपाल–भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताए । यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय पाँचौ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेश स्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।