February 8, 2025, Saturday
२०८१ माघ २७

सुप्रिम सहकारी ठगीः रवि लामिछानेविरुद्ध आज रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीविरुद्ध रुपन्देहीमा सहकारी ठगीमामा मुद्दा दर्ता गर्ने तयारी गगरिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालय, भैरहवाले आज रवि, छवि र अन्य केही विरुद्ध मुद्दा दर्ताको तयारी गरिरहेको हो ।

Advertisement

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले आज १२ बजेभित्र मुद्दा दर्ता हुने बताए । ‘केही प्राविधिक कठिनाइ देखिएन भने आज मुद्दा दर्ता हुन्छ’, उनले भने । लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी गरिएको उनले जनाए। बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा आज पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालयले जनाएको छ ।

रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ। उनीहरू दुवै जनालाई ४ करोडमाथि बिगो कायम गरिने स्रोतले जनाएको छ। यसअघि प्रहरीले अनुसन्धान सकेर एक साताअघि नै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले एकसाता अध्ययन गरेर अभियोग पत्र तयार गरेको हो।

यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो। लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए।

त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर थुनछेक बहस सकिएको छ। तर, जोशी भने अझै अदालतमा उपस्थित भएका छैनन्। उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैं काठमाडौँ प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो।

लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ। उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन्। भैरहवामा अभियोग पत्र दायर भएपछि अदालतमा आफैं उपस्थित हुने उनको तयारी छ।

त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरु दुवै जनाविरुद्ध मुद्दा चलाउने तयारी छ। दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्।

सुप्रिम सहकारी ठगीमा बिहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भएको छ । गितेन्द्रबाबु राई (जिबी)सहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भए पनि यीमध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको जनाइएको छ।