नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई

भैरहवा- सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरस्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि रुपन्देही लीलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयीसँगै लीलारामले प्रतियोगिताको रनिङशिल्ड प्राप्त गर्न सफल भएको छ । त्यस्तै मुनलाइट आवसीय माध्यमिक विद्यालय द्वितिय र काशी नोबल एकेडेमी तृतिय भएका छन् ।
११ स्वर्ण, १२ रजत, १० काश्य पदक प्राप्त गरी लीलाराम माध्यमिक विद्यालय प्रथम भएको हो । त्यस्तै १० स्वर्ण, ७ रजत र ५ काश्य पदक प्राप्त गर्दै मुनलाइट द्वितीय भएको हो । भने, ४ स्वर्ण, ३ रजत र ६ काश्य पदकसहित काशी नोबल एकेडेमी तृतिय भएको हो । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागिता रहेको थियो ।
त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको थियो । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागिता रहेको थियो । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल भएका थिए । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा अधिकृत जानवी पाण्डेले जानकारी दिइन् ।
सबै इभेन्टतर्फ प्रथम, द्वितिय र तृतियलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको थियो । तीनदिने प्रतियोगिताको समापन गर्दै सिद्धार्थनगर नगपालिकका प्रमुख इश्तियाक अहमद खाँले धैर्यता र अनुसासन नै मानिसको सफलताको कडी भएको बताए ।
उनले बिजयी खेलाडीलाई बधाई दिँदै उपबिजेताहरुलाई अझ मिहनत गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यार्थीहरु अनुशासित हुनुपर्ने कुरा बताउँदै राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न शुभकामना व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पछिल्लो समय यो राष्ट्रपति रनिङशिल्ड स्थानीय सरकारको गौरवको रुपमा रहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस्