February 8, 2025, Saturday
२०८१ माघ २७

घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट

भैरहवा– लुम्बिनी विकास कोष परिसर नजिक घर भएका एक स्थानीय बासिन्दा भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत पर्सा चोकस्थित ट्राफिक प्रहरी बिटको गतिविधि देखेर छक्क पर्छन् । उनका अनुसार उक्त विट सामुन्नेबाट दैनिक सयौं यातायातका साधन ओहोर–दोहोर गर्छन् ।

Advertisement

सडकबाट गाडी ओहोरदोहोर गर्नु सामान्य हो । साना–ठूला गाडी निरन्तर गुडीरहन्छन् । तर, विटमा खटिएका ट्राफिक प्रहरीले मालबाहक गाडी देख्यो कि सिठी फुक्छन् । कति गाडीलाई सिठी फुक्नै पर्दैन । त्यस्ता मालबाहक गाडीका चालकले विट नजिकै आइपुगेपछि झ्याप्प ब्रेक लगाउँछन् । गाडी रोकिएपछि सिटबाट झरेर विटमा आउँछन् । ‘त्यसरी आउँदा कति चालक–सहचालकको हातमा कागज हुन्छ,’ ती स्थानीयले भने, ‘कतिको हातमा नोटै देखिन्छ, केहीको कागजभित्र नोट हुन्छ ।’

गाडीबाट उत्रिएर आउने चालक–सहचालकले विटभित्र पसेर धेरै समय बिताउँदैनन् । उनीहरुभित्र पस्छन् र बाहिर निस्किन्छन् । ‘ठुला गाडीवालाका हातमा ५ सयको नोट हुन्छ,’ ती स्थानीयले भने, ‘साना गाडीवालाको हातमा कम पैसा हुन्छ ।’ एक दिन आधा घण्टाभन्दा लामो समय ट्राफिक विट छेउमा उभिएर दृश्य अवलोकन गरेका उनले ५० भन्दा धेरै मालबाहक गाडीमात्र विट सामुन्ने रोकिएको देखेको बताए । यात्रुबाहक बस, निजी गाडी रोकिन्थेनन् । कति ट्रिपरका चालक पनि विटतिर हेर्दै मुस्कुराएर जाने गर्थे । ‘हरेक दिन देखिने दृश्य हो,’ उनले भने, ‘यहाँका नागरिकलाई यस्ता दृश्य सामान्य लाग्न थालिसके ।’

लुम्बिनीमात्र होइन, भैरहवा–लुम्बिनी खण्डको बेथरी पुलमा २४ सैं घण्टा नेपाल र ट्राफिक प्रहरी तैनाथ हुन्छन् । प्रायः दुई जना खटिने पुलको पश्चिमपट्टिको मुखैमा रहेको विटमा पनि यस्तै दृश्य देखिन्छन् । साँघुरो पुलमा प्राय साना–ठूला गाडीको जाम लाग्छ । पुलमा अवरोध हुँदा दुबैतर्फ गाडीको लामो लाइन भइसक्छ । तर, विटका ट्राफिक प्रहरीलाई हतार हुँदैन । आफ्नै धुनमा हुन्छन् । यात्रु कराउन थालेपछि बलजफ्ती जाम हटाउन उत्रिन्छन् । तर, सामान बोकेका गाडी देख्यो की सिठी फुक्न सुरु हुन्छन् ।

कतिपय अवस्थामा गाडीका चालकले झ्यालबाट हात बाहिर निकालेर सडकमा उभिएका ट्राफिक प्रहरीसित ‘गुड’ गर्छन् । ‘त्यसरी गुड गर्दा के गुन लाउँछन् कुन्नी ?,’ बेथरी पुलमा भेटिएका एक मोटरसाइकल चालकले भने, ‘सायद मुस्कानसहितको आर्थिक सेवा हो कि ? पुलिस हाँसेको हाँस्यै देख्छु ।’

बुटवल–भैरहवा व्यापारिक मार्गका अंचलपुर र मंगलापुरमा ट्राफिक प्रहरीको सक्रियता देखिन्छ । त्यहाँ खटिएका प्रहरीले मालबाहक र भारतीय नम्बर प्लेटका गाडी देख्यो कि झ्याप्प रोक्छन् । सहरमा सर्वसाधरण र व्यापारिक सामान ओसार्ने काम ‘छोटा हात्ती’ले गर्छन् । बुटवल–बेलहिया खण्डमा छोटा हात्तीमात्र होइन दैनिक सयौं ओभरलोड बोकेका टिप्पर गुडछन् । ट्राफिक प्रहरीले टिप्पर रोक्दैनन् । तर, छोटा हात्ती रोक्छन । त्यस बाहेक भारतीय नम्बर प्लेटका गाडी र मालबाहक ट्रक रोकिन्छन । ‘पहिल्यै सेटिङ भएकाले टिप्परलाई रोकतोक हुँदैन,’ अञ्चलपुरमा पशल भएका एक स्थानीयले पब्लिक कुरासित भने, ‘सेटिङ नभएका मालबाहक र भारतीय नम्बर प्लेटका गाडी रोकिन्छन् ।’

अर्को दृश्य भैरहवा–परासी खण्डको रोहिणी पुल पारिपट्टीको घुम्तिमा देखिन्छ । पुलको पूर्वपट्टि सडक घुम्ति परेको छ । पुर्वपट्टिको बजार केही टाढा छ । पश्चिमतर्फ पुल छ । उत्तरमा एउटा उद्योग छ । दक्षिणमा जंगल जस्तै धेरे रुखहरु छ । सुनसान घुम्तिमा पुग्ने यात्रुले सधै एउटै गीत गुनगुनाउने गरेका छन्– ‘घुम्तिनिर लेट भयो, माया ट्राफिक प्रहरीसित भेट भयो’ । उक्त स्थानमा बाह्रैमास ट्राफिक प्रहरी तैनाथ हुन्छ । तर, के लागि ? सर्वसाधरण प्रश्न गर्छन् । गति नियन्त्रणका लागि हुन्थ्यो भने, समथर, सिधा बाटोमा ट्राफिक प्रहरी खटिनु पथ्र्यो । मोडमा स्वतः गति कम हुन्छ । त्यहीँ ट्राफिक प्रहरी खटिएपछि केही न केही रहस्य भएको स्थानीयको भनाई छ ।

यहाँ भारतबाट मुलुक भित्रिएर भैरहवा–परासी हुलाकी खण्डबाट अन्यत्र जाने हरेक मालबाहक सवारीसँग ट्राफिक प्रहरीले रकम असुली गर्छन् । स्थानीयले हरेक मालबाहक गाडीबाट एक सयदेखि ५ सयसम्म असुली भइरहेको बताए । सालझण्डी, बुटवलको सिद्धबाबा क्षेत्र पनि ट्राफिकको दैनिकी यसैगरी चल्ने गर्छ ।