सिद्धार्थनगरमा जनप्रतिनिधिबीच टकरावः बोर्ड बैठक बस्न सकेन, हिउँदे अधिवेशन अनिश्चित

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा जनप्रतिनिधिबीच टकराव हुँदा पछिल्ला तीन नगर कार्यपालिका बैठक (बोर्ड बैठक) बस्न सकेको छैन । जसले गर्दा हिउँदे अधिवेशन नै अनिश्चित भएको छ । अधिवेशनका लागि बोर्ड बैठकले एजेण्डा तय गर्नुपर्ने हुन्छ । तर, पटक–पटक बोलाइएको बोर्ड बैठक बस्न नसक्दा अधिवेशन कहिले गर्ने भन्नेबारे टुंगो नलागेको नगर उपप्रमुख उमा अधिकारीले बताइन् । कानूनतः यही पुस २४ गतेसम्म हिउँदे अधिवेशन बस्नुपर्छ ।
केही समय अघि तय गरिएको बोर्ड बैठकमा नगर प्रमुख, उपप्रमुख, वडा नं. १ का वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य कोही उपस्थित भएनन् । कहाँसम्म भने नगर प्रमुख निकट मानिएका काँग्रेसबाट निर्वाचित वडाध्यक्ष समेत उपस्थित नहुँदा बोर्ड बैठक नै बस्न सकेन् ।
पटक–पटक आह्वान गरिएको बोर्ड बैठक बस्न नसक्दा योजना कार्यान्वयन र बजेट खर्चमै समस्या निम्तिन थालेको नगरपालिकाका एक अधिकृत बताउँछन् । ‘जनप्रतिनिधिको टकरावले सास्ती जनतालाई भएको छ । योजना कार्यान्वयन नहुँदा बजेट फ्रिज हुने अवस्था आउन थालेको छ’, ती अधिकृतले भने, ‘यसको दोषी जनप्रतिनिधिहरु हुन् । यो कुरा जनताले बुझ्न जरुरी छ ।’ उनले काम नगर्ने तर कर्मचारीलाई दोष थुपारेर उम्किने प्रचलन यहाँका जनप्रतिनिधिमा रहेको जनाए ।
उपप्रमुख अधिकारीले नगर प्रमुख इश्तियाक अहम्मद खाँकै कारण पटक–पटक बोर्ड बैठक स्थगित हुँदै आएको जनाइन् । ‘प्रमुखले योजनाहरुमा समावेसिता गर्नुभएको छैन । कुनै पनि योजनामा सिरियस हुनुहुँदैन’, उनले भनिन्, ‘यसले गर्दा पनि एमाले, राप्रपा मात्रै होइन् उहाँकै पार्टी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु पनि सन्तुष्ट हुनुहुन्न ।’
उनले मंसिर अन्तिम र पुस लागेपछि दुईपटक बस्ने भनिएको बोर्ड बैठक वडाध्यक्षहरु उपस्थित नहुँदा स्थगित गरिएको जनाइन् । ‘प्रमुखलाई भेट्नै मुस्किल पर्छ’, उनले पब्लिक कुरासँग भनिन्, ‘समय नदिने, अन्य जनप्रतिनिधिसँग भेट्न नखोज्ने, भेट भइहाले हुन्छ–हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले समस्या निम्तिरहेको छ ।’ अधिकारीले नगरमा प्रदेश र संघबाट योजना ल्याउन पहल नगर्ने, आफ्नो पहलमा ल्याएका योजनाहरु पनि स्वीकृति नगर्ने प्रवृत्ति प्रमुखसँग रहेको बताइन् ।
सिद्धार्थनगर वडा नं. १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले जनप्रतिनिधिहरु पार्टीगतरुपमा विभाजित हुँदा बैठक बस्न नसकेको जनाए । ‘पुस २४ भित्र हिउँदे अधिवेशन गर्नुपर्छ तर यहाँ बोर्ड बैठकसमेत बस्न सकेको छैन’, उनले भने, ‘प्रमुख र उपप्रमुखबीच आन्तरिक विवाद हुँदा समस्या भइरहेको छ । तर, छिटो समस्या समाधान गरेर हिउँदे अधिवेशन आह्वान गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’
उनले समयमै हिउँदे अधिवेशन नभए सडक बोर्डबाट सिद्धार्थनगरमा परेको बजेट फ्रिज हुने जनाए । ‘कुनै पनि बहानामा जनताको काम रोकिनुहुन्न, बजेट फ्रिज र योजना कार्यान्वयनमा समस्या आउनुहुन्न’, उनले भने, ‘हिउँदे अधिवेशनबाट धेरै कुराहरु संशोधन गर्नुपर्नेछ । यसमा प्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधि सिरियस हुन जरुरी छ ।’
नगरमा सुरुमा राप्रपा र एमालेबीच गठबन्धन थियो । यसपछि राप्रपा र काँग्रेसबीच गठबन्धन भयो । अहिले काँग्रेस र एमालेबीच गठबन्धन छ । तर, प्रमुख र उपप्रुमख मिल्न नसक्दा धेरै योजना कार्यान्वयनमा समस्या भइरहेको वडाध्यक्षहरु बताउँछन् ।
सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले प्रमुख, उपप्रमुख नमिल्दा सबै काम अस्तव्यस्त भएको बताए । उनले बोर्ड बैठक बस्ने भनिए पनि विभिन्न कारणले बस्न नसकेको जनाए । ‘सुरुमा बोर्ड बैठक बस्ने भन्दा उपप्रमुखले धेरै वडाध्यक्षहरुलाई बैठकमा नजान भन्नुभयो, अहिले उहाँले बोलाउँदा पनि वडाध्यक्षहरु आउनुभएको छैन’, उनले भने, ‘अहिले आफ्नो सेटिङ मिलेपछि बैठकमा आउनु भन्नुभएको छ । तर साथीहरु के कारणले जानुभएको छैन, मलाई थाहा छैन ।’
वडाध्यक्ष श्रेष्ठले वडा नं. १० स्थित सूर्यदेव माविको जग्गा लिजमा दिने विषयमा विवाद भएको जानकारीमा आएको बताए । ‘स्कूलको जग्गा लिजमा दिन हुँदैन भन्ने हाम्रो आवाज थियो, तर दिनुपर्छ भन्ने उपप्रमुख लगायतको थियो । यही विषयले विवाद सिर्जना भएको हो’, उनले भने, ‘जसले गर्दा हिउँदे अधिवेशन नै अनिश्चित भएको छ ।’ उनले प्रमुख र उपप्रमुख दुबैजना काम र जिम्मेवारीप्रति त्यति सिरियस नभएको बताए । ‘उहाँहरु दुबैजना बेलाबेला कहाँ–कहाँ गायव हुनुहुन्छ, हामीलाई केही थाहा हुँदैन । तर, विवाद उहाँहरुले निकाल्नुहुन्छ’, उनले भने, ‘तत्काल बसेर छलफल गरेर समस्या समाधान गर्नुपर्छ ।’
नगर प्रवक्ता समेत रहेका वडा नं. ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले बोर्ड बैठक बस्न नसक्नु र हिउँदे अधिवेशन आह्वान हुन नसक्नुको कारण नगर प्रमुखले दिनुपर्ने बताए । ‘प्रमुख भनेको नगरको अभिभावक हो, तर यहाँ प्रमुखबाट त्यो व्यवहार भएको छैन’, उनले भने, ‘अभिभावकले कहाँ कस्तो योजना पार्ने, असन्तुष्टहरुलाई सन्तुष्ट पार्ने लगायतका काम गर्नुपर्ने हो । कुनै पनि काम प्रमुखले गर्नुभएको छैन । त्यसैले राप्रपा प्रमुखको कामप्रति पुरै असन्तुष्ट छ ।’ यादवले काँग्रेस र एमालेको गठबन्धन भए पनि यी दुई दल नमिल्दा कामहरु प्रभावित भएको बताए । यसबारे बुझ्न खोज्दा नगर प्रमुख खाँले फोन रिसिभ गरेनन् ।
प्रतिकृया दिनुहोस्