April 22, 2025, Tuesday
२०८२ बैशाख ९

लुम्बिनी महोत्सवमा आज ज्योति मगरको ‘धमका’

भैरहवा– नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आज (आइतबार) चर्चित गायिका ज्योति मगरको प्रस्तुती रहनेछ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अनुसार राष्ट्रिय कलाकार मगरसँगै गायिका एलिजा रेग्मीले पनि प्रस्तुती दिनेछिन् ।

Advertisement

महोत्सव अन्त्यतिर आइपुग्दा दर्शकको भीड दैनिक रुपमा बढिरहेको छ । ज्योति मगर महोत्सवमा प्रस्तुती दिन आउने भएपछि उनका फ्यानहरु उत्साहित छन् । लोकदोहोरी गायक मगरले स्टेज तताउने र दर्शकदीर्घलाई उत्साहित तुल्याउने विश्वास आफूहरुको रहेको प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए ।

महोत्सवका सांस्कृतिक संयोजक दीपेन्द्र प्रधानले ज्योतिले मेलामा आज धमका नै मच्याउने जनाए । ‘ज्योतिजीको प्रस्तुती हेर्न जुन ठाउँमा पनि दर्शकको भीड लाग्ने गर्छ’, उनले भने, ‘उहाँको धमकेदार प्रस्तुतीले धेरैको मन जित्ने गरेको छ ।’ ज्योति मगर आउने भएपछि बिहानैदेखि महोत्सवमा जान टिकट काट्नेहरुको पनि भीड लागेको जनाइएको छ ।

खासगरी युवायुवतीमाझ लोकप्रिय बनेकी गायिका मगरका दर्जनौं गीत चर्चित छन् । उनले गीत गाउँदै दर्शकलाई नचाउने क्षमता राख्छिन् । आफू पनि नाच्दै गीत गाउने भएकाले धेरैले उनको प्रस्तुतीलाई रुचाउँछन् ।

यससँगै महोत्सवमा आज भ्वाइस अफ भैरहवा र भैरहवा आइडलको समेत प्रस्तुती रहनेछ । कार्यक्रम लोकदोहोरी गायक दीपु मगरले संचालन गर्नेछन् । यस्तै, अन्य स्थानीय कलाकारको समेत प्रस्तुती रहने महोत्सवमा साँझ डिजे समेत हुनेछ । महोत्सवमा आएर राष्ट्रिय कलाकारसँगै रमाउन र मनोरंजन लिन आयोजकले सबैलाई आग्रह गरेका छन् । महोत्सवमा स्थानीय उत्पादनको विशेष प्रस्तुती गरिएको छ । जसले गर्दा उपभोक्ताले यहाँ गएर खरिद गरिरहेका छन् ।