एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
भैरहवा– भैरहवास्थित भीम अस्पतालमा एन्टीरेविज भ्याक्सिन सकिएको एक महिना भयो । कुकुरले टोकेर वा अन्य कारणले रेविजबिरुद्ध एन्टीरेविजको भ्याक्सिन लगाउन अस्पतालमा आउने पीडित रित्तै घर फर्किन वा अन्य निजी स्वास्थ्य संस्था चहार्दै हिंड्न बाध्य छन् ।
मर्चवार क्षेत्रमा रहेको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अवस्था त्यही नै छ । बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उस्तै । रुपन्देहीमा रहेका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र लगायत् सरकारी स्तरबाट एन्टी रेविज भ्याक्सिन उपलब्ध हुने सवै सरकारी संस्थाको अवस्था उही हो ।
रुपन्देही जिल्लामात्र नभएर सरकारले एन्टीरेविज भ्याक्सिन उपलब्ध गराउने लुम्बिनी प्रदेशका १२ जिल्लाका ४० वटा अस्पताल लगायतका स्वास्थ्य केन्द्र एन्टीरेविज भ्याक्सिनबिहीन अवस्थामा छन् । सरकारले निःशुल्क उपलब्ध गराउने भनेको एन्टीरेविज भ्याक्सिन पाउनका लागि पीडित महंगो शुल्क तिरेर निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा धाउन बिबश छन् ।
सरकारले समयमैं खरिद गरेर बितरणको व्यवस्था मिलाउन नसक्दा सरकारी स्वास्थ्य निकायमा एन्टीरेविज भ्याक्सिन अभावको यो अवस्था आएको हो । भीममा कुकुरले टोकेर भ्याक्सिन लगाउन आउनेको दिनहुँ तांती नै लाग्ने गरेको छ । अस्पतालमा भ्याक्सिन नपाएपछि निजी स्वास्थ्य संस्था वा सीमावर्ती भारतीय बजार धाउनु पर्ने बाध्यता पीडितलाई छ ।
भीम अस्पतालका प्रशासन प्रमुख ईश्वरी ज्ञवालीले एक महिनादेखि अस्पतालमा एन्टी रेविज भ्याक्सिन सकिएको बताए । उनका अनुसार, एन्टी रेविज भ्याक्सिन लगाउनका लागि अस्पताल आउनेको संख्या दैनिक सरदर ५० छ । ग्रामीण भेगबाट समेत उत्तिकै आउने गरेका छन् ।
‘बर्षमा एक पटक माघ–फागुनतिर भ्याक्सिन आउने गर्छ । सकिएकाले छैन भनेर फर्काउनुको बिकल्प छैन’, ज्ञवालीले भने, ‘भ्याक्सिन सकिएको जानकारी दिँदै उपलब्ध गराउन सम्बन्धित निकायमा माग गरिरहेका छौं ।’
एन्टीरेविज भ्याक्सिन उपलब्ध गराउने गरेको ४० वटा स्वास्थ्य संस्थामा बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले कोटा निर्धारण गरि भ्याक्सिन उपलब्ध गराउने गर्छ । तर, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र नै भ्याक्सिनबिहीन अवस्थामा रहेपछि लुम्बिनी प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट पीडित सेवाग्राहीलाई उपलब्ध हुने कुरै भएन ।
‘कुनै ठाउँमा समूहगत रुपमा कुकुरले टोकेर वा रेबिज संक्रमणको जोखिम भएमा सरकारको उपस्थिति देखाउन केही परिमाणमा भ्याक्सिन भए पनि अस्पतालहरुमा बितरण गर्न सकिने परिमाण केन्द्रसँग छैन’, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, खोप शाखाका हरि आचार्यले भने, ‘जताततैबाट भ्याक्सिनको माग आएको छ तर हामीसँग पनि नभएकाले उपलब्ध गराउन सकिएको छैन ।’
मुलुकभरि आवश्यक पर्ने भ्याक्सिनको खरिद प्रक्रिया अपनाइ उपलब्ध गराउने जिम्मेवारी स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भएको र भ्याक्सिन उपलब्ध गराउन प्रदेशले भदौ महिनादेखि माग गर्दै आएको उनले बताए ।
आचार्यका अनुसार, सरुवा रोग नियन्त्रण महाशाखाबाट यस बर्ष लुम्बिनी प्रदेशका लागि मंसिरसम्म १ हजार १ सय ६० भायलमात्र एन्टी रेबिज भ्याक्सिन उपलब्ध भएको थियो । अघिल्लो बर्षको मौज्जात रहेको १२ हजार १ सय २५ भायल समेत गरि प्रदेशले कात्तिक दोस्रो सातासम्म अलिअलि उपलब्ध गराएको थियो । त्यसपछि उपलब्ध गराउन सकेको छैन ।
निःशुल्क रुपमा यो भ्याक्सिन उपलब्ध गराउन सरकारले लुम्बिनी प्रदेशमा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गरि ४० वटा स्थान निर्धारण गरेको छ । ४० स्थानका लागि मासिक ५ हजार ७ सय ७० भायलका दरले वार्षिक ६९ हजार २ सय ४० भायल आवश्यक पर्ने आचार्य बताउँछन् । आवश्यकता भन्दा अति न्युन परिमाणमा उपलब्ध हुने गरेकाले सरकारी स्तरबाट निःशुल्क उपलब्ध हुने भनिएको यो भ्याक्सिन पाउनदेखि रेबिजको जोखिममा परेका हजारौं सर्वसाधारण बञ्चित रहने गरेको तथ्यांकले देखाउँछ ।
सरकारी स्वास्थ्य संस्थामा उपलब्ध हुन नसकेपछि रेबिजको जोखिममा परेका पीडित निजी स्वासथ्य संस्थाबाट महंगो शुल्क तिर्न बाध्य हुने गरेका छन् । पीडितका अनुसार, तीन पटकसम्म लागउनु पर्ने यो भ्याक्सिनका लागि न्युनतम पनि २ हजार ५ सय रुपैयाँ तिर्नु परेको छ । अर्कोतर्फ, सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने भनिएकाले अधिकांश नीजि क्लिनिकले यो भ्याक्सिन नराख्ने हुँदा पीडित भ्याक्सिनका लागि धेरै ठाउँमा भौंतारिनु पर्ने अवस्था छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले यस पटक खरिद गरेर ल्याउनु अगावै एन्टी रेविजको भ्याक्सिन सकिएको बताए । यस वर्षका लागि खरिद गरिएको भ्याक्सिन आवश्यक नभएको धेरै व्यक्तिले पनि धेरै लगाएकाले चाँडो सकिएको महशुस भएको उनले जनाए ।
उनका अनुसार, बौलाएको कुकुरले टोकेको भैंसी, रागा लगायत जनावरको मासु खाएकाले गाउले सवैले भ्याक्सिन लगाउनु पर्ने घटनाका कारण पनि चाँडो सकिएको हो । कतिपयले रेबिज नभएको कुकुरसँग सामान्य संसर्ग भए पनि जोखिम नलिने भन्दै भ्याक्सिन लगाइहाल्ने प्रबृत्ति छ । भ्याक्सिन सकिँदै गएपछि महाशाखाले एक महिनादेखि बितरणमा नियन्त्रण गरेको हो ।
‘जतिसक्दो चाँडो आवश्यक परिमाणमा भ्याक्सिन उपलब्ध गराउने प्रक्रियामा छौं’, उनले भने, ‘हालै आइपुगेको एक लटको भ्याक्सिन प्रयोगशालाबाट उपयुक्त देखिएपछि बितरण गरिने छ ।’ एन्टीरेबिज भ्याक्सिन खरिदका लागि गत वर्ष १३ करोड रुपैयाँ बिनियोजन गरिएकोमा बढी खपत भएकाले यस पटक दोब्बर बिनियोजन गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस्