May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सिद्धार्थनगरका १५ जना नगर प्रहरी दीक्षित, इमान्दारितापूर्वक कर्तव्य पालना गर्न आग्रह

Advertisement

भैरहवा– सिद्धार्थनगर नगरपालिकाले छनोट गरेका नगर प्रहरी मंगलबार दीक्षित भएका छन् । नगरपालिकाले छनोट गरेका प्रहरीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रुपन्देहीले ३० दिनसम्म आधारभूत तालिम प्रदान गरेर मंगलबार गण परिसरमा एक कार्यक्रमको आयोजना गरेर दीक्षित गरिएको हो ।

Advertisement

नगरपालिकाले स्वास्थ्य परीक्षणसहित लिखित र अन्तर्वार्ता लिएर एकजना नगर प्रहरी सहायक निरीक्षक र १४ जना जवान गरी १५ जनालाई छनोट गरेको थियो । छनोट भएका उनीहरुलाई सशस्त्र प्रहरी अधिकृतसहितका टोलीले तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, २७ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले प्रमाणपत्र, माला प्रदान गरेर दीक्षित गरेका हुन् । प्रमाणपत्र प्रदान गरेर कार्यक्षेत्र प्रवेश गर्नुअघि नयाँ तालिम प्राप्त नगर प्रहरीले कवाज प्रदर्शन गरेका थिए ।

नगर प्रमुख खाँले व्यवस्थित तालिम प्रदान गरेकोमा सशस्त्र प्रहरीलाई धन्यवाद दिए । नेपाल सरकारको व्यवसायिक संस्थाबाट तालिम लिएका कारण नगर प्रहरीले अनुशासित ढंगले कर्तव्य निर्वाह गर्ने बताए । उपप्रमुख अधिकारीले नागरिकको हित र आवश्यकतालाई ध्यानमा राखेर नगर प्रहरीले काम गर्नुपर्ने बताइन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले नगर प्रहरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्ने भरोसा व्यक्त गरे । साथै स्थानीय सरकारका काम कारबाही कार्यान्वयनमा सहयोग पुग्ने बताए ।

गणपति थापाका अनुसार ३० दिन अवधिमा नगर प्रहरीलाई व्यक्ति सुरक्षा, सरकारी सम्पति सुरक्षा, विपत व्यवस्थापन, हुल दंगा व्यवस्थापन, आगलागी नियन्त्रण लगायत आधारभूत तालिम प्रदान गरिएको थियो । ‘स्थानीय सरकारको आवश्यकता अनुसार आधारभूत तालिम प्रदान गरिएको छ,’ थापाले भने, ‘यहाँ प्राप्त तालिमको शीप, ज्ञान र कौशल कार्यक्षेत्रमा अनुशासनपूर्वक लागू गर्नु हुनेछ ।’ कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायत सरोकारवाला सहभागी थिए ।