फूल र मौरी


फूलले उड्दै गरेका मौरीलाई भने –
आहार तयार पारिदिएका छौं
आएर भोगिहाल
आकाशमा बादल नलाग्दै
सतहमा हुरी नचल्दै
मन्दिर जाने बहानामा
मनुष्यहरू यहाँ आइनपुग्दै
भोक हरण गर्नु पनि त छ तिमीले
आइहाल ! आइहाल !
बादल, बतास र क्षुद्रजनको कुदृष्टि पर्नुअघि नै
मेरा परागकणहरू छरपस्ट हुनुअघि नै
तिमी मेरा सुन्दर थुङ्गाहरूमा मात्र
लोभी नजर नलगाऊ मनुष्यले जसरी
जंगलको रसिलो संसारबाट
मेरा सारा आफन्त र इष्टमित्रबाट अलग्याएर
मलाई यो सानो गमलामा कैद गर्ने
ती पापीको कृत्यबाट म पहिल्यै त्रस्त छु
झरनाबाट उडेर आउने पानी पिउने बानी परेको मलाई
तरल मल भन्दै
विषाक्त झोल खुवाउने छलीहरूबाट
म पहिल्यै त्रस्त छु
त्यसैले त भन्दै छु –
मलाई हलक्क बढाएर
निमोठ्न पल्केका ती हातहरू आइपुग्नु अघि नै
तिमी आऊ
र चुम्बन गरिहाल मलाई
भोगिहाल मलाई!
तिम्रो स्पर्शले
परितृप्त हुन आतुर छन् मेरा पुङ्केसरहरू
र साकार हुने तयारीमा छन्
मेरा मनभरि उब्जेका
मेरा नवसन्ततिका करोडौं सपनाहरू ।
-sahityapost








प्रतिकृया दिनुहोस्