February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

तस्करीको चिनी बरामदपछि लुम्बिनीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार

भैरहवा– राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा रुपन्देहीमा सुरक्षाकर्मी सवार गाडीमाथि ढुंगामुढा भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२ स्थित मुझानमा तस्करहरुको समूहले सशस्त्र प्रहरीका सुरक्षाकर्मी सवार गाडीमा ढुंगामुढा गरेका हुन् ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सूचना अधिकारी डीएसपी दुर्गाबहादुर थापाले राजस्व छलीको चिनी बरामद गरेर फर्किने क्रममा संयुक्त टोलीमाथि ढुंगामुढा भएको पुष्टि गरे । ‘मुझानमा राजस्व छलेर चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राजबहादुर बिष्टसहित ४ जना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमाण्डमा १० जनाको टोलीले चिनी नियन्त्रणमा लिएको थियो’, उनले भने, ‘फर्कने क्रममा सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी प्रहार भयो ।’

उनका अनुसार बिहीबार बेलुकी ५ बजे गस्ती टोलीले चिनी नियन्त्रणमा लिएको थियो । साँझ ६ बजे टोलीमाथि आक्रमण भएको हो । उक्त स्थानमा स्थानीयहरुको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुईवटा सिसा पूर्णरुपमा फुटेर क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै स.प्र.बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र राजस्व प्रहरी ईकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेकोे छ । घाइते सुरक्षाकर्मीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपश्चात उनीहरु सम्बन्धित कार्यालयमा फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएपछि तत्कालै सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा एसपी थापा मगरसहितको ७० जनाको टोली परिचालित भइ उक्त भिडलाई तितरबितर पारेको थियो । बरामद चिनीसहित सवारीसाधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवल पुर्याइएको छ ।