January 25, 2025, Saturday
२०८१ माघ १३

एक दशकदेखि भैरहवामा तिहारलाई उल्लासमय बनाइरहेका रहिश खान

भैरहवा– तिहार आयो । अब भैरहवामा कहाँ रमाउने ? चिन्ता गर्नु पर्दैन । यहाँका एक युवा व्यवसायीले आफ्नै खर्चमा विगत लामो समयदेखि तिहार पर्वलाई उल्लासमय बनाउँदै आएका छन् । सिद्धार्थनगर नगरपालिकाको मिलन चोकस्थित युनिक साउण्डका संचालक ३६ बर्षीय रहिश खानले दिपावली पर्वलाई लक्षित गरी करिब एक दशकदेखि ‘तिहार फेस्टिबल’ आयोजना गर्दै आएका छन् । उनले आठ पटटक यस्तो कार्यक्रम गरिसकेका छन् । यसपटक नवौं हो ।

Advertisement

उनले स्थानीय मात्रै होइन, राष्ट्रिय कलाकार समेत ल्याएर भैरहवा र यस आसपासका बासिन्दालाई रंगीन साँझमा रमझममा रमाउने वातावरण बनाउँदै आएका छन् । मुलुकमै चर्चितरुपमा रहेको युनिक साउण्ड संचालन गर्दै आएका खानले यसपटक पनि सानु डिपार्टमेन्टल स्टोरदेखि मिलनचोकसम्म तिहार फेस्टिबल आयोजना गर्दै आएका छन् ।

हुनतः खान मुस्लिम समुदायका युवा व्यवसायी हुन् । तर, उनले हरेक पर्व नेपालीहरुमा आआफ्नै धर्मसंस्कृति अनुसार मनाइने भएकाले ठूलो पर्व तिहारलाई आफूले फेस्टिबलका रुपमा मनाउँदै आएको बताउँछन् । ‘मैले कुनै धर्मको भन्दा पनि हाम्रा नेपाली चाड सबैका हुन् भनेर तिहार फेस्टिबल आयोजना गर्दै आएको छु’, उनले भने, ‘हामीले मिलेर बस्नु पर्छ । एकअर्काका पर्वलाई सबैले सम्मान गर्नुपर्छ ।’ उनले मुस्लिमहरुको बकरइदमा हिन्दुहरु सहभागिता बढीरहेको र हिन्दुहरुको पर्वमा सबैले सम्मानपूर्वक मनाउनु पर्ने बताए ।

उनले भैरहवालाई गुल्जार र उल्लासमय बनाउन एक्लो प्रयाश र लगानीमा विभिन्न कार्यक्रम गर्ने गरेको बताए । बिहीबार साँझ लक्ष्मी पूजाको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । एक पटकको दिपावलीको वेलामा लाखौं रुपैयाँसम्म खर्च गरेर यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताए । ‘यसपटक करिब ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ’, उनले भने । उनका अनुसार उद्योग ब्यापार संगठनले उनले आयोजना गरेको कार्यक्रमलाई साथ दिएको छ ।

तिहारको धनतेरस आउनु भन्दा तीन–चार दिन अघिदेखि नै उनले मिलन चोकस्थित सडकमा झिलीमिली बनाउन लाइटमा मात्रै ३–४ लाख जति खर्च गर्ने गर्छन् । लक्ष्मी पुजाको दिन भैरहवामा सांगितिक तथा मनोरञ्जन दिनका लागि स्टेज तयार पारेर स्थानीय र राष्ट्रिय कलाकार जुटाउने गर्छन् । कलाकार सहितको सांगीतिक कार्यक्रमका लागि उत्तिकै खर्च हुने उनले बताए ।

सडकमा सजावटका लागि विभिन्न रंगिबिरंगी बत्तिको लाइटका लागि खर्च हुने गर्छ । स्टेज तयार पार्न र कलाकारलाई पारिश्रमिक दिन पनि खर्च लाग्छ । यो खर्च जुटाउन खानले न कुनै संघसंस्था र सरकारी निकायमा माग गर्ने गरेका छन् । न त स्थानीय व्यवसायीसँग चन्दा तथा सहयोगको उठाउने गरेका छन् ।

याहाँसम्मकी उनले अहिलेसम्म कुनै पनि उद्योग व्यवसायीबाट कार्यक्रमका लागि स्पोन्सर समेत जुटाएका छैनन् । सांगीतिक कार्यक्रम खुल्ला हुने भएकाले दर्शकले निःशुल्क हेर्ने गर्छन् । उनले यसरी व्यक्तिगत खर्चमा कार्यक्रम संचालन गर्दै आएको आठ बर्ष भयो । यसपटक नवौपटक आयोजना गरिएको खानले बताए ।

सामान्य एउटा राजनीतिक कार्यक्रम आयोजना गर्न भन्दै उद्योग व्यवसायीसंग अकुत चन्दा र सहयोग उठाउने गरेका विभिन्न राजनीतिक दल, तिनका भातृ संगठन, चुनावका वेला उठ्ने उम्मेदवार र पर्यटन प्रबद्र्धनका कार्यक्रमका नाममा स्थानीय तह र सरकारी बजेट अपरादर्शी रुपमा खर्च गर्ने गरेका कतिपय नीजि क्षेत्रका संघसंस्थाका लागि उनले गर्दै आएको कार्यक्रम अनुशरणीय छ ।

बिगत केही बर्षदेखि खानले संचालन गर्दै आएको यस खालको कार्यक्रमका वारेमा स्थानीय व्यवसायी तथा उद्योग ब्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ खुलेर प्रशंसा गर्छन् । ‘स्थानीय बजारलाई गुल्जार बनाउने र आन्तरिक पर्यटन प्रबद्र्धनका लागि उनले खेल्दै आएको यो एकल प्रयाससहितको लगानी हामी सवैका लागि अनुकरणीय छ’, श्रेष्ठले भने, ‘सामाजिक भावना र सामाजिक योगदानको वारेमा उनी भैरहवाका नमूना पात्र हुन् ।’

स्थानीय कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसरका लागि सांगीतक कार्यक्रम आयोजना गरि आफूले एउटा प्लेटफर्म तयार पारिदिएको खानले बताए । ‘धेरैजना यस्ता स्थानीय कलाकार छन्, जो आफ्नो प्रतिभा देखाउने अवसर पाएका छैनन्’, उनले भने, ‘त्यस्ता स्थानीय कलाकारलाइ प्रोत्साहित गर्नका लागि पनि मैले व्यक्तिगत रुपमा यो लगानी गर्ने गरेको हुँ ।’

भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डले लक्ष्मीपूजाको दिन (बिहीवार) बेलुकी ६ बजे देखि मध्यरातसम्म दीपावली उत्सव गर्नेछ । लक्ष्मीपूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको खानले बताए ।

तिहार उत्सबका लागि आयोजना स्थलमा सिंगारिएको छ । उत्सवमा नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरु सँगै लाइट–शो हुनेछ । उनले आफू ईस्लाम धर्मालम्बी भए पनि सबैको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने भावना रहेकोले लक्ष्मीपूजाको दिन उत्सवलाई निरन्तर राखेको बताए । तिहार उत्सवमा भैरहवाका साथै वरपरका क्षेत्रहरु बुटवल, मणिग्राम, परासी साथै छिमेकी देश भारतको सीमावर्ती शहरबाट समेत सहभागिता हुने खानले बताए ।