अन्तिम डिनर

३० अगस्ट, शुक्रवार, सुजाता किचनको ठूलो हल । ऊ सधैं झैं छिर्केमिर्के कुर्ता सुरुवालमा रात्रिकालीन भोजनका लागि आएकी छ, मभन्दा पहिले नै । यो वर्षातको मौसम होइन तथापि बेमौसमी झरी परिरहेछ । झरीले उसलाई असहज पक्कै बनाएको छ । रुझ्नबाट उसलाई मेरुन कलरको सलले केही राहत दिएको छ ।
आज उसको शिविरको अन्तिम रात्रिकालीन भोजन थियो । मभन्दा अगाडी उसले खाना लिंदै थिई । मलाई आज उस्तो खान मन छैन तैपनि थोरै खाना लिंदै थिएँ ।
“म तपाईंलाई खीर राखिदिऊँ” ऊ अचानक बोली । यो भन्दा पहिला ऊ मसँग केवल तीन पटक बोलेकी छ तर एक या दुई वाक्य मात्र । मसँग उसको यो बोली चौथो थियो । “हस्” भन्ने बित्तिकै उसले कचौरामा खीर भरिदिई र मेरो खोपे थालको एक खोपामा राखिदिई । आफ्ना लागि खिर लिई । “के तपाईंले आज मसँगै डिनर गर्न सक्नुहुन्छ ?” उसले औपचारिक प्रस्ताव राखी । मैले स्वीकृतिको टाउको हल्लाएँ । डाइनिङ हलको बीचको तेस्रो टेबलमा उसले आफ्नो खाना बिसाई र बसी । मैले उसैलाई पछ्याएँ ।
ऊ मिस्टिक रोजकी विद्यार्थी हो र म अन्तर यात्राको । दिनको क्लास बाहेक बिहानको डाइनामिक र बेलुकीको कुण्डलिनी, आरती र सत्सङ्ग क्लासहरू भने साथै हुने गर्छन् । सुजाता किचनको खुल्ने समय निश्चित छ तब किचनको भेट त झनै स्वाभाविक हुने नै भयो ।
ऊसँग दिनको क्लास बाहेक प्रायः देखभेट भने भैरहन्छ । उसको र मेरो बोलचाल एकदमै पातलो छ तर आँखाहरू भने बारम्बार भेटिरहन्छ र बोलिरहन्छ । आवाजको भेट भने खै किनकिन भेट्न लजाउँछन् ।
ऊ उस्तो अग्ली छैन न त उस्तो होची । चट्ट मिलेको कदकी ऊ निकै सुन्दरी छ । उज्यालो अनुहार, चम्किला आँखा, हमेशा मन्द मुस्कुराउने उसले तारले दाँत बाँधेकी छ, सायद उसका दाँत फट्टिएका थिए कि । मलाई उस्तो भेउ छैन । बैंसालु झरना जस्तो कालो केश सधैं झैं स्वतन्त्र छाडेकी हुन्छे अहिले पनि त्यस्तै छ । ऊ दुब्ली छैन । ऊ मोटी पनि त हैन । चटक्क कुदेर मिलाए जस्तो उसको शरीर छ । हिंडाइका कदमहरू धर्तीमा स्पर्श गर्दा बिझाउँला झैं हिंड्छे ऊ । कस्तो सुन्दर पदचाप । कदमसँगै मधुर बतासको झोक्काले उडाएको केश उस्तै मोहक छ । शायद परीहरू यस्तै होलान् ।
आम दिन भन्दा मैले निकै बिस्तारै भोजनको स्वाद लिंदै छु, कारण ऊ थिई । ऊ निकै नै ढिलो गरी खाँदै थिई । ऊ एक गाँस बत्तीस दाँतले बत्तिस पटक चबाएर मात्रै निल्छे शायद ।
आज ऊ कुरा गर्ने मूडमा छे । उसो त आजको यो डिनर उसको ध्यानशिविरको अन्तिम हुनेवाला छ ।
ऊ आफैले भन्दै थिई – आज मेरो यो शिविरको अन्तिम डिनर हो ।
मैले खुशी थप्दै भन्छु – तपाईंसँग अन्तिम डिनर खानु मेरो अहोभाग्य रहेछ ।
ऊ मुस्कुराउँछे । खै ! के लागेर हो उसले आफ्ना र परिवारका हरेक गोप्य कुराहरू मलाई सुनाइरहेकी छ ।
मधुर मुस्कान सहितको उसको बोली निकै कोमल भएर मसम्म पुगिरहेको थियो । ऊ जिब्रो फड्कारेर खाँदिन । बडो जतनले स्वाद लिएकी छ । खानाको स्वाद जति होशपूर्वक लिएकी छ उस्तै होशपूर्वक मलाई पनि सम्हालेकी छ । उसको बोलीको कला बेजोड छ ।
बेला बेला लजाउँछे । बेला बेला आँखा जुधाउँछे । उसको खानाको खोपे थाल र मेरो थालको बीचको दूरी एक औलीको छ । अर्थात् आमनेसामनेको दूरी निकै कम छ ।
भातको सिता तल्लो ओठको दाहिने कुनामा टाँसिएको छ । तर उसलाई मेसो छैन । ऊ कुरा गर्नमै व्यस्त छे ।
लाग्छ – उसको ओठसम्म हात पुर्याऊँ र सिता टिपिदिऊँ ।
लाग्छ – होइन उसको बोलीको व्यस्ततालाई नभत्काऊँ । यस्तैमा केहीबेर पछि सिता खस्छ । मन भन्छ उसको ओठमा अल्झेको भातको सिता भैजाऊँ । म कतै हराइदिन्छु ।
गुरुदेव श्री श्री रवि शंकर भन्नुहुन्छ – प्रेम मनुष्यको स्वभाव हो । प्रेम केवल भावना मात्रै होइन यो त मनुष्य जीवनको अस्तित्व हो । शायद हामी दुई मानवीय अस्तित्वको जगमा थियौं । स्वभावैले हामी अन्तिम डिनरका लागि एकै साथ प्रेममा पोखिएका थियौं ।
हामीले यति कुरा गरेछौं कि सुजाता किचनका सबै टेबलहरू खाली भैसकेका थिए । किचन बन्द गर्ने सङ्केत किचनमा काम गर्नेले बारबार गरिरहेथे तर उसले उनीहरूलाई बेवास्ता गर्दै थिई । अलि धेरै नै प्रेशर आएपछि हामी उठ्यौं ।
हामी दुवै खोपे थाली धुन बाहिर धारामा छौं । ऊ बोलिरहेकी छ । तपाईं त मेरो परिवारको मान्छे जस्तो लागिरहेछ । किन यस्तो भएको होला ? ऊ प्रश्न गर्छे । मसँग यसको ठ्याक्कै उत्तर छैन । आफ्नै मनलाई सोध्छु, हामी एकै परिवारका त हौं नि । हाम्रो मार्ग एउटै हो । हाम्रो गुरु एउटै, हाम्रो बाटो एउटै तब हाम्रो हृदयको भावहरू सम भएको हुनुपर्छ । आफैले गुने मात्रै ।
सुजाता किचनबाट हामी आ–आफ्नो रूमतिर जान उकालो लाग्यौं । दुई साना घुम्ती उक्लेपछि उसलाई चिनेका दुईजना साना भाइहरूले उसलाई अल्झाए । मसँगको गफको माहौल टुट्यो । उसलाई जान्छु नभनी म सरासर आफ्नो रूमतिर लागें । जान्छु पनि नभनी गयो भन्ने सोचिहोली । रूमको ढोकाछेउ पुग्नै लाग्दा मलाई अचानक याद आयो । शायद ऊ मसँग अझै कुरा गर्न चाहन्थी होला । उसले मृत्युपार्कमा गफिनका लागि मलाई आग्रह गर्थी होला किनकि ऊ आज गफिने मूडमा थिई ।
म रूम नछिरी तत्काल फर्कें, उसलाई खोजें तर ऊ कतै देखिइन । कतै उसले मृत्युपार्कमा मलाई पर्खेकी त छैन । म ओरालो लाग्छु । मृत्युपार्कका चियरहरू खाली थिए । ऊ थिइन । नरमाइलो लाग्यो । एउटा चियर तानें र खोल्सातिरको झरनातर्फ फर्कें । झ्याउँकीरीहरू गीत गाइरहेछन् । झरना आफ्नै संगीतमा मग्न छ । घनाजङ्गललाई बत्तीका मधुर प्रकाशले रोमान्टिक बनाएका छन् । कीराहरूका अनेक ध्वनिहरूले वातावरण गुन्जयमान छ । तर उसको अभाव छ । शायद उसले मलाई निष्ठुरी सम्झेकी पो छ कि । ऊ पक्कै आउँछे भन्ने आश तीव्र छ । निकै बेर मृत्युपार्कमा अनेक विचार सहित म उसको प्रतीक्षा गरिरहेछु ।
मन आकाश हो । यो निराकार छ । मनको निराकार आकाशभित्र विचारका नगण्य कल्पनाहरूको आकाश निर्माण भैरहेका थिए । विचारको उथलपुथलले शायद म आफै थिइनँ । मनको विशाल र निराकार आकाशभित्र उसका विभिन्न आकृतिहरू कोरिइरहेका थिए । म उसका कोमल आकृतिहरूमा अनेक रङ बनेर पोतिइरहेको थिएँ ।
उसको आगमन नभएपछि हाम्रो भेट पुनः रात्रिकालीन अन्तिम ध्यान शिविरमा हुनेछ भन्ने आश लिएर म रूमतिर लागें । सेतो पहिरन लगाएर ध्यानहल छिरें । ऊ अझै आएकी छैन । प्रायः सबै जनाको उपस्थिति भैसकेको छ । हलमा आँखा डुलाउँछु तर उसलाई भेटिनँ । खल्लो लाग्यो, कतै नआउने पो हो कि !
ध्यानहलको पल्लोपट्टि मिरा ब्लक छ । ऊ त्यतै बस्छे । केहीबेर पछि त्यतैबाट मधुर पदचाप, हँसिलो अनुहार सहित ऊ हल प्रवेश गरी । म चाहन्थे ऊ मेरो नजिकै आएर बसोस् तर त्यसो भएन ऊ हलको पछाडि गएर बसी । नरमाइलो लाग्यो । खैर हाम्रो भेट रात्रिकालीन शिविर सकिएपछि हुनेछ ।
सबैजना प्रवचनमा लट्ठिएका थिए । को कति बेला हलबाट बाहिर निस्क्यो यकिन हुने कुरा भएन । मैले आँखा खोल्दा प्रायः सबै गइसकेका थिए । हलको पछाडि हेरें । ऊ थिइन । शायद गइसकेकी थिई । ऊ कतै समाधि स्थलतिर गएकी भन्ने ख्याल आयो । म फटाफट समाधि स्थलतिर झरें । तर ऊ त्यहाँ थिइन । अरू मन्दिर र पार्कहरूमा खोजे ऊ थिइन ।
त्यही बेला मैले आचार्य रजनिशको सुन्दर वाक्यांश सम्झें – म सबैलाई प्रेम गर्छु । मेरो प्रेम प्रेमको वस्तुमा निर्भर छैन । प्रेम अस्तित्वमा निर्भर छ । साथी शत्रु बनोस् वा मान्छे बदलियोस् यसमा केही फरक पर्दैन किनकि मेरो प्रेम कहिल्यै अर्को व्यक्तिमा निर्भर हुँदैन । मेरो प्रेम मेरो अस्तित्वको अवस्था हो । म केवल प्रेम गर्छु । अपेक्षा गर्दिनँ । म यो मार्ग हिंडेर पर पुग्ने चेष्टामा थिएँ शायद तब मलाई अचानक यो वाक्यांशले सचेत गरायो ।
मृत्यु पार्कमा टहलिंदै भन्ज्याङमा गीत गाइरहेका झ्याउँकीरी र झरनाको आवाजमा मग्न भै बसेको छु । घना जङ्गलमा फुलेका अनेकौं फूलहरूको सुगन्ध बोकिल्याएको मधुर बतासले उसै लठ्याएको थियो । झ्याउँकीरी र अनेकौं कीराहरूको आवाजरूपी धुनले मन बहेली खेलिरहेको थियो । झरनाको लय उस्तै मीठो थियो । धर्तीमा ओर्लेको जून रुखमा पातहरूमा अल्झेको थियो । कतैबाट चुहिएको जून मेरो आँखामा उसको प्रतिबिम्ब खोज्दै थियो । रातको यो क्यानभासमा एकैसाथ घट्ने यी घटनाहरूले म आफ्नो अस्तित्वसँग शायद ऊ थिइन । निकै बेरको मौनता पछि म ब्युँझिएँ । तबसम्म रात निकै छिप्पिइसकेको थियो ।
इन्द्रिय भोग हाबी भएर निर्माण भएका कृत्रिम विचारहरूको रागले मनुष्य आफ्नै दलदलमा फस्छ । मनुष्य त्यतिबेला कुरूप देखिन्छ जतिबेला इन्द्रियहरू बसमा हुँदैनन् । मलाई यो बाटोबाट मुक्त हुनु थियो तर मनुष्य स्वभाव र लत झट्टै छुट्ने स्थिति थिएन । मुक्त हुनुपर्छ भन्ने बोध नै परिवर्तनको बिउ हो । म बोधको पथको पथिक थिए र बिस्तारै पाइला चाल्दै थिएँ ।
शायद जीवन संयोगहरूको अर्को नाम हो । तथापि अन्तिम डिनरले जुटाएको उसको याद जीवनको कालखण्डमा सुरक्षित रहनेछ । -sahityapost
प्रतिकृया दिनुहोस्