रूपन्देहीका पाँच ठाउँमा एकीकृत यात्रु सहायता कक्ष

भैरहवा– रुपन्देहीको भैरहवास्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न सिकाइयो । सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर लगायतले चालकलाई माला लगाइदिएर यात्रु सहायता कक्ष उद्घाटन गरेका हुन् ।
‘यात्रु सहायता कक्ष स्थापना गर्दा यस्तो सम्मानले चालकहरुको मनोबल बलियो बनाउँछ भनेर माला लगाइदिएर हौसला बडाएका हौं’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउने काममा कहीकतै कमीकमजोरी गर्नुहुँदैन ।’ उनले सवारी चलाउँदा सावधानी अपनाउन जरुरी रहेको जनाए । ‘कहिलेकाही चालकको लापरबाहीले पनि दुर्घटना हुन्छ’, उनले भने, ‘हामी चालकहरु सचेत भयौं भने धेरै दुर्घटना नियन्त्रण हुन्छ । अनाहकमा नागरिकको ज्यान जानबाट जोगिन्छ । यसमा सबै चनाखो बनौं, दुर्घटनारहित यात्रा गर्ने नागरिकको अधिकारी सुनिश्चित गरौं ।’
नेपालीहरुमा महान पर्व बडा दसैं, दिपावली, छठ लगायतका पर्वहरु नजिकिँदै छन् । पर्वका बेला रोजगारीका लागि विदेशिएकाहरु घर फर्कन्छन् । यस्तोबेला नागरिकले सीमा क्षेत्र, वसपार्कहरुमा अनेक समस्या भोग्दै आएका छन् । अर्कातर्फ चाडबाडमा सवारी चाप बढ्ने र चालकको लापरबाहीले वर्सेनि दुर्घटना भइरहेका छन् । यसलाई रोक्न तथा एकीकृत सेवा प्रदान गरीे नागरिकलाई गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने उद्देश्यसहित जिल्लाका सीमा नाका, वसपार्क र धेरै भीडभाड हुने स्थानहरुमा नागरिक सहायक कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
‘दसैं लगायतका पर्वहरु नजिकिँदै गर्दा नेपाल आउने पर्यटक, भारतलगायतका मुलुकबाट रोजगारी गरेर फर्कने नेपाली र मुलुकभित्रै विभिन्न ठाउँमा आउजाउ गर्ने सर्वसाधरणलाई लक्षित गरि नागरिक सहायता कक्ष स्थापना गरिएको हो’, उनले भने, ‘यस्ता सहायता कक्षले नागरिकलाई सहजता दिलाउनेछ । धेरै सुविधा सहायता कक्षमार्फत उपलब्ध गराउने प्रयास हामीले गरेका छौं ।’
जिल्ला प्रशासन, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा स्वास्थ्य जाँचदेखि औषधिसम्म एकीकृत सेवा प्रदान गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधरणसहित आमगरिकलाई सयोग पुग्ने विश्वास छ ।
रुपन्देहीमा पाँच ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको बेलहिया, बुटवल बसपार्क, भैरहवा बसपार्क, लुम्बिनी पर्साचोक र कालिदहमा नाकामा सहायता कक्ष स्थापना गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी राठौरले बताए । सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायातका प्रतिनिधि र स्वास्थ्यकर्मी नियमित खटिने उनले जनाए । सहायता कक्ष छठ पर्वसम्मै राखिने छ । उनले कुनै समस्या परे सहायता कक्ष वा बाटो उभिएका प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरे ।
हरेक बर्ष चाडपर्वका वेलामा अत्यधिक सवारी दुर्घटाना हुने र धेरै यात्रुले ज्यान गुमाउने गरेका छन् । नेपालमा कुल मृत्युको चौथो कारणमा सवारी दुर्घटना छ । सवारी दुर्घटनामध्ये चौथो कारणमा चालकको लापरबाही छ । ‘यसैले पनि हामीले सहायता कक्ष मार्फत चालकलाई सचेत गराउन जरुरी छ’, उनले भने, ‘यसका साथै यात्रुलाई सुविधा र समस्यामा सहयोग हुनेछ ।’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले चालक र सहचालकलाई उच्च सम्मान गर्दै उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीको बोध गराउनु पर्ने बताए ।
सहायता कक्षमा चालक र सह–चालकको दैनिकरुपमा र यात्रु, पर्यटक सर्वसाधरणको आवश्यकताका आधारमा स्वास्थ्य जाँच गरिनेछ । चालक र सहचालकको मापसे र लापसे (लापरबाही गरे–नगरेको) परीक्षण हुनेछ । विरामी भेटिए अस्पताल पठाइनेछ । ‘यससँगै, ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादर बारे जानकारी गराइने छ । भाडा वढी लिएमा, यात्रामा कर्मचारीबाट दुव्र्यवहार भएमा, एउटै टिकट एक भन्दा बढी यात्रुलाई बेचेमा, चोरी वा लुटपाट भएमा सहायता प्रदान गरिनेछ’, प्रहरी प्रमुख राठौरले भने, ‘समस्या परेमा प्रहरीलाई सम्पर्क गर्ने माध्यमबारे जानकारी दिइनुका साथै बाटो काट्दा अपनाइने उपायबारे सिकाइनेछ । यसले यात्रुको गन्तव्य सहजताका ल्याउने छ भने चालकलाई पनि होसियारी अपनाउन टेवा पुग्ने विश्वास छ ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यात्रुलाई सहजरुपमा गन्तव्यसम्म पुग्न सवारीको समस्या नहुने बताए । उनले चौबीसै घण्टा सेवा दिने गरी यातायातको व्यवस्था मिलाइएको जनाउँदै सुरक्षित यात्राका लागि आफूहरु चनाखो रहेको जनाए । ‘कुनै हैरानी र दुःख विना गन्तव्यसम्म पुग्न पाउने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘कुनै समस्या भए यात्रु, चालकले प्रहरी वा हामीलाई समन्वय गर्न सक्नुहुन्छ ।’
सहायता कक्षमार्फत् चाडपर्वको वेला बाह्य तथा आन्तरिक यात्रुहरूको आवागमन सुरक्षित गाउन, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुनसको झन्झट र अवान्छित गतिविधि नियन्त्रण गर्न, यात्रुहरुलाई गन्तब्यमा सुरक्षित पुर्याउने जिम्मेवारी लिएका चालक र सहचालकलाई उनीहरुको पेशाको सम्मान गर्नुपर्ने भावना जागृत गराउन, नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्न यातायात व्यवसायी, प्रहरी र सरोकारवालाको भूमिका प्रभावकारी बनाउन र दुव्र्यवहार, दुर्घटना न्युनीकरणमा समेत सहयोग पुग्नेछ ।
प्रतिकृया दिनुहोस्