October 15, 2024, Tuesday
२०८१ आश्विन २९

अझै पूर्णता पाएन लुम्बिनी सरकारले

भैरहवा– लुम्बिनी सरकारले अझै पूर्णता पाउन सकेको छैन । सत्तारुढ नेपाली कांग्रेसभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा लामो समयदेखि भइरहेको विवादले प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । नयाँ गठनबन्धन निर्माण भएदेखि कांग्रेसमा मन्त्री छनोटको विषय पेचिलो बन्दै आएको छ । अहिले कांग्रेस भागका दुई मन्त्री छान्न बाँकी छ । कांग्रेसमा देखिएको किचलोले सरकार विस्तारमा ढिलाइ भएको हो ।

Advertisement

प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल तय गरिएको छ । लुम्बिनी प्रदेश सरकारमा एमाले ५, कांग्रेस ५ र साना दलले बाँकी मन्त्रालय पाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार गत साउन ७ मा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीसँगै गत साउन ९ मा उनले एमालेबाट ४ र कांग्रेसबाट ४ मन्त्री सपथग्रहण गरेका थिए ।

एक साता अघि कांग्रेसबाट वन तथा वातावरणमन्त्री बनेका बाँकेका बादशाह कुर्मीले राजीनामा दिए । त्यसयता कांग्रेसका ३ मन्त्री सरकारमा छन् । कुर्मीले भदौ २५ मा पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीले कुर्मीले प्रतिनिधित्व गरेको बाहेक बाँकी मन्त्रालयमा नियुक्तीको प्रयास गरिरहेका छन् । कांग्रेसबाट महिला मन्त्री बनाउनुपर्ने दबाब बढेको छ । कांग्रेस प्रदेशसभा सदस्य एवं सचेतक नीमा गिरीले नेतृत्वलाई दवाव दिएकी छन् । महिला मन्त्री बनाउनुपर्ने दबाब अभियानमा लागेपछि उनले गत भदौ ३१ मा कांग्रेस सचेतक पदबाट राजीनामा दिएकी थिइन् ।

महिला प्रदेशसभा सदस्यको दबाब बढेपछि कांग्रेसबाट तत्काल एक जना मात्र सिफारिस गरेर सरकार विस्तार गर्ने तयारी भएको छ । तर, कांग्रेसभित्र एक जना मन्त्री छनोटको विषयले सरकार विस्तार थप जटिल बनाएको छ । सरकार गठनकै बेला सरकारलाई समर्थन गरेका साना दलमध्ये एमालेले एक दललाई मन्त्रालय दिने र कांग्रेसले दुई साना दलको सहमति जुटाएर एक दललाई मन्त्री दिने मौखिक सम्झौताले अप्ठ्यारो पारेको छ ।