October 15, 2024, Tuesday
२०८१ आश्विन २९

क्लासिक कथा: बन्द गर यो स्वर

उता बैठक कोठामा गीतको अभ्यास भइरहेको छ । मम्मीको सुरिलो स्वरसँग मेन्डोलिनको धुन मिलाउँदै हुनुहुन्छ उहाँ । केही बेरअघि म आफैं चियानास्ता लिएर बैठक कोठामा गएकी थिएँ । चियानास्ता टेबलमा राखिदिंदा पनि उहाँहरूमध्ये कसैले पनि मतिर हेर्नुभएको थिएन । चिया खाइहाल्नोस् नत्र सेलाउँछ मैले भनेकी थिएँ ।

Advertisement

“ए… चिया.. थैङ्क्यु ! थैङ्क्यु ! ल मम्मी चिया पिइहालौं अनि फेरि रिहर्सल गरौंला ।” मेरा पति विनोदले मेन्डोलिन टेबलमाथि राख्दै भन्नुभएको थियो ।

मलाई क्षणभर पनि त्यहाँ बस्न मन लागोन, त्यसैले म कोठाबाट बाहिरिन लागेको थिएँ, अचानक विनोदले मेरा पाखुरामा समातेर आफ्नो छेउमा सोफामा राख्दै भन्नुभयो, “सृजना ! तिमी पनि बस न । हेर, मम्मीले आज कस्तो राम्रो गीत तयार पार्नुभएको छ । सुन्यौ भने दङ्ग पर्नेछ्यौ तिमी ।” अनि उहाँले मेन्डोलिनको तारमा सुर मिलाउन लाग्नुभएको थियो । “गाउनुहोस् न मम्मी ! त्यो गीत सृजनाले पनि सुन्छिन्,” उहाँले मेन्डोलिन बजाउँदै मम्मीतिर हेरेर भन्नुभएको थियो ।

मम्मी मतिर हेरेर मुसुक्क हाँस्नुभयो अनि लोलाएका जस्ता सुन्दर आँखाहरूमा गीतका भावहरू छचल्काउँदै सुरिलो स्वरमा गाउन लाग्नुभयो । विनोद पनि मम्मीको व्यथामय स्वर र मेन्डोलिनको धुनमा लट्ठ परेर आँखाभरि सपना बोकेझैं गरेर डुब्न लाग्नुभएको थियो- कुनै सुन्दर स्वप्निल संसारमा ।

म फेरि आत्तिएँ । बस्नै सकिनँ त्यहाँ । त्यसकारण “बच्चाहरू स्कूलबाट आउने बेला भइसक्यो” भन्दै उठेर कोठाबाट बाहिरिइहालें ।

आफ्नो कोठामा आएपछि असन्तुलित भएको हृदयलाई सन्तुलित पार्न निकै बेर लाग्यो मलाई । त्यस्तै हुन्छ । क्षणक्षणमा मलाई के हुन्छ ! यत्रो ठूलो घरमा, परिवारहरूको माझ बस्दा पनि म आफूलाई सधैं एक्ली नै पाउँछु ।

म आफूलाई दन्त्यकथाकी त्यै राजकुमारी जस्तै सम्झन्छु जसलाई एउटी राक्षस्नीले आफ्नो दरबारभित्र बन्दी बनाएर राखेकी थिई । यति वर्ष बितिसक्दा पनि यस घरको रहनसहनमा मैले आफूलाई ढाल्न सकेको छैन ।

म एउटा साधारण परिवारकी साधारण युवती । मलाई सङ्गीत र नृत्य मन नपर्ने होइन । कुनै समयमा जब म स्कूलमा अध्ययन गर्दथें, त्यसवेला दुईचार पटक स्कूलबाट देखाइने सांस्कृतिक कार्यक्रममा भाग लिएकी थिएँ मैले तर हिजोआज गीत र नृत्यलाई हृदयदेखि नै घृणा गर्दछु । गीतका बोलहरू मेरो निमित्त बज्रसमान भइदिएका छन् र नृत्य गरिंदाका भावभङ्गीमा नागले फणा उचालेर नाचेको झैं लाग्दछ मलाई ।

मम्मी र विनोदलाई भने गीत र नृत्यमा डुबेर समय बितेको पनि होस हुँदैन । धेरै दिन भइसक्यो मैले सिंगारपटार गर्न छोडेको पनि । सिंगार पनि कसको निम्ति गर्नु ? मेरो सिंगारलाई हेरेर प्रशंसा गरिदिनु, मेरो शरीरको सुन्दरतालाई स्नेहपूर्वक स्पर्श गर्ने, खोइ ती आँखाहरू ? खोइ ती स्नेहयुक्त मायालु हात ?

हिजोआज मलाई लाग्दछ मेरो शरीरको सम्पूर्ण जाँगर र मस्तिष्कको शान्ति कसैले हरेर लगिदिएको छ । प्रायःजसो म एक्लै बस्न रुचाउँछु । कोलाहल मलाई पटक्कै मन पर्दैन । यहाँसम्म कि आफ्नै छोराछोरी बोलेका सुन्दा पनि झर्को लाग्न थालेको छ मलाई ।

मेरो पति विनोदको स्वभाव देखेर अचम्म लाग्दछ । मलाई आफैंलाई हाम्रो विवाह प्रेमविवाह हो भनेर विश्वास लाग्दैन । जब म विवाह भएपछि विनोदकी पत्नी बनेर यस घरमा भित्रिएकी थिएँ, त्यसवेला शोभादेवीजस्ती ख्यातिप्राप्त गायिका तथा अभिनेतृको पुत्रवधू हुन पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेको थिएँ ।

मेरी सासू उहाँको यौवनावस्थामा मात्र होइन अहिले यतिको उमेर भइसक्दा पनि आफ्नो सुरिलो कण्ठ स्वर र चरित्र अभिनयले दर्शकहरूलाई बाँधेर राख्न सक्षम हुनुहुन्छ । वेलावेलामा उहाँले नृत्यको कार्यक्रममा पनि भाग लिने गर्नुभएको छ । उहाँको नृत्य हेरेर दर्शकहरू मन्त्रमुग्ध हुन्छन् ।

विनोद जन्मिंदा उहाँ भर्खरै पन्ध्र वर्ष पुगेर सोह्र वर्षमा लाग्नुभएको थियो रे ! अहिले विनोद तीस वर्षका भइसकेका छन् तर यतिको उमेरदार छोरो भइसकेर पनि मेरी सासूको स्वास्थ्य र सौन्दर्य रत्ती मात्र पनि खस्केको छैन । मानौं ईश्वरबाट उहाँले अक्षय यौवनको वरदान पाउनुभएको छ । उहाँको नौनीजस्तो कोमल शरीर अझ पनि मोहनीय छ । स्वरको कदर गरेर श्रोताहरूले कोकिलकण्ठीको उपाधि दिएका छन् उहाँलाई । यस्ती सीप र सौन्दर्यले भरिपूर्ण भएकी स्त्रीले यौवनावस्थामै पतिलाई सदाको निम्ति गुमाएर पनि दोस्रो विवाह नगरेको देख्दा प्रायः सबै मानिसहरू छक्क पर्दछन् ।

मेरी सासूले विरहका गीत गाउँदा लाग्दथ्यो- उहाँको घाउ फुटेर व्यथा पोखिइरहेको छ । साँच्चै भन्ने हो भने शुरूशुरूमा त उहँले उदासिला गीतहरू गाउँदा मेरे आँखाभरि आँसु हुन्थे । म स्वयम्लाई थाम्न सक्दिनथें । यी सबै पहिलेका कुराहरू हुन् । अब त मेरो मन फुटेर टुक्राटुक्रा भइसकेको छ । रूनुको निम्ति मलाई कसैको गीत सुन्नु पर्दैन ।

शुरूमा मेरी सासूको रूप, गुण र प्रतिभा देखेर म उहाँबाट अति प्रभावित भएकी थिएँ । अहिले उहाँका त्यही गुणहरू मेरो निम्ति दुर्भाग्य भएको सम्झन लागेकी छु ।

मैले भनिहालें- म एउटा मध्यम परिवारकी साधारण युवती थिएँ । घरको अवस्था उति राम्रो थिएन, त्यसै कारण आइए पास गरेपछि एउटा प्राइभेट कम्पनीमा टाइपिस्टको जागीर गर्दै थिएँ । त्यसै कार्यालयमा विनोदसँग मेरो परिचय भएको थियो । विनोद पनि त्यसै कार्यालयमा शाखा अधिकृत हुनुहुन्थ्यो । अग्लो बान्की परेको स्वस्थ शरीर भएको विनोद निकै विनोदी स्वभावका युवक हुनुहुन्थ्यो ।

प्रायः वर्ष दिन जति मैले त्यस कार्यालयमा जागिर गरें । त्यही वर्ष दिनको अवधि भित्रमा विनोदको र मेरो घनिष्ठता बढ्दै गयो । हामीले एकअर्कालाई चाह्यौं, प्रेम गर्यौं र अन्तमा विनोदले मेरोअघि विवाहको प्रस्ताव राख्नुभयो ।

मलाई सन्देह लागेको थियो, कतै विनोदकी मम्मीले मजस्ती साधारण युवतीलाई पुत्रवधूको रूपमा स्वीकार्नुहुन्न कि भनेर तर मेरो भाग्य बलियो भएर हो अथवा एक मात्र छोराको आग्रहलाई लत्याउन नसकेर हो, उहाँ छोराको इच्छाविपरीत जानुभएन र मैले उहाँकी बुहारी भएर यस घरमा प्रवेश गरें ।

विनोदजस्ता सुपात्रको हातमा छोरीलाई सुम्पिदिन पाएकोमा हाम्रो परिवारका सबै सदस्यहरू हर्षित थिए । मेरा साथीहरूले पनि मेरो भाग्यको प्रशंसा गर्दै, “आहा ! क्या सुन्दर जोडी हुनेछ तिमीहरूको । भएन, सासू त्यस्ती ख्यातिप्राप्त कलाकार छिन् । घरद्वार सबै तिम्रै त हुने हो नि” भनेका थिए ।

हाम्रो विवाह हुनुभन्दा अघि नै विनोदले उनकी मम्मीको विषयमा मलाई वृत्तान्त कुरो भन्नुभएको थियो – उहाँले आफू बालकै छँदा बुबा स्वर्गे भएको र मम्मी नै उहाँको निम्ति आमाबाबु दुवै भएको अनि आफू जत्ति नै व्यस्त रहे तापनि एक मात्र सन्तान छोरालाई कहिल्यै पनि आफूबाट पर नराखेको कुराहरू भन्नुभएको थियो । मम्मीको रातोदिनको व्यस्तता देखेर कतिले उहाँलाई “छोरोलाई होस्टलमा राख्नुहोस्” भनेर सल्लाह पनि दिएका थिए तर मम्मीले मान्दै मान्नुभएको थिएन ।

विनोदले यो भन्नुभएको थियो, “मेरी मम्मीजस्ती रूपवती र गुणवती स्त्री संसारमा कमै होलान् ।”

“मम्मी त मेरा लागि आमा, बाबु, साथी सबै हो ।” उहाँले कुरा अझ लम्ब्याएर भन्नुभएको थियो, “म सानो छँदा मम्मीले ऐनाको अघि बसेर श्रृंगार गरेको हेर्न खूबै मन पराउँथें । लुगाको रङ मिलाएर लाउनु र श्रृंगार गर्नुमा मेरी मम्मीलाई कसैले पनि जित्न सक्दैन । मम्मीले गाएको सुन्नु र नृत्य गरेको हेर्नका निम्ति म स्कूलबाट भागेर आउँथें,” उहाँले हाँस्दै कुरा थप्नुभएको थियो ।

“उसो भए तपाईंले मम्मीबाहेक अरू कसैलाई पनि माया गर्नुहुन्न ?” मैले हाँस्दै परिहास गरेर भनेकी थिएँ विनोदसँग । “अहँ गर्दिनँ तर होइन, होइन, गर्छु तिमीलाई, मेरी प्रेयसीलाई,” भन्दै उहाँले मलाई अँगालो हाल्नुभएको थियो ।

“तिमी र म भएर मम्मीलाई खुशी राख्नुपर्छ, उहाँको सेवा गर्नुपर्छ,” मेरो केश मुसार्दै भन्नुभएको थियो ।

विनोदको आमाप्रतिको माया र भक्तिको भावना देखेर मलाई खुशी लागेको थियो । “मेरो छोरो पनि यस्तै हुनेछ,” मैले मनमनै सोचेकी थिएँ । विवाह भएपछि मम्मी र विनोदको इच्छाअनुसार मैले जागिर गर्न छोडेकी थिएँ ।

“मलाई जागीर छाड्न मन छैन,” भनेर मैले विनोदसँग भन्दा उहाँले मलाई सम्झाउँदै भन्नुभएको थियो, “यत्रो ठूलो घरको हेरचाह गर्नु, नोकरलाई अहाउनु अनि सिंगारिएर प्रियतमको प्रतीक्षा गर्नु, यो पनि त एउटा जागीर नै हो ।” उहाँको मीठो कुरामा म बेमोल बिकेकी थिएँ ।

हुन पनि हो, विनोदसँग बिहे भएपछि अर्थोपार्जनको निम्ति जागीर गर्नुपर्ने कुनै आवश्यकता नै थिएन र समय बिताउनको निम्ति चाहिं घरमा मनोरञ्जनका सरसामानहरू प्रशस्त थिए । मम्मी र विनोदले मेरो निम्ति थरीथरीका पोसाकहरू, गरगहना र शृङ्गारका साधनहरू जुटाइदिनुभएको थियो । म दिनदिनै नयाँ लुगा लाएर सिंगारपटार गरेर बस्ने गर्थे ।

घरमा कामकाज गर्ने दुईवटा नोकर भए तापनि मम्मी र विनोदका लागि चियानास्ता मैले आफैं तयार पार्ने गरेकी थिएँ । मैले सुकुमेल र मरिच राखेर बनाएको चिया मम्मीलाई खूबै मन पर्छ ।

मम्मी र विनोद बिहान चार बजे उठेर गीत र नृत्यको रियाज गर्न लाग्नुहुन्छ । बिहान नौ बज्दासम्म उहाँहरू बैठककोठाबाट निस्कनुहुन्न । म सानोतिनो काममा आफूलाई अल्झाएर राख्दछु । हामी सबैजना सँगै बसेर चिया खान्छौं । चियाको समयभित्र पनि मम्मी र विनोदको माझ संगीतकै विषयमा कुरा भइरहन्छन् । म उहाँहरूको माझमा बसेर पनि आफूलाई एक्ली ठान्छु ।

नुहाईओरी लुगा फेरेर खाना खाएपछि विनोदको मोटरसाइकलमा बसेर मम्मी आफ्नो कामतिर जानुहुन्छ । म त्यसै उदास भएर बस्दछु ।

म घरमा दिनभरि एक्लै हुन्छु । पुस्तक र मनोरञ्जनका सरसामानहरू मेरा निम्ति निरर्थक भइदिन्छन् ।

साँझ मम्मी र विनोदसँगै घर फर्कनुहुन्छ । विनोद आउनेबित्तिकै हातमुख धोएर कपडा फेरिओरी “चिया पठाइदेऊ है” भन्दै मेन्डोलिन लिएर बैठक कोठातिर लाग्नुहुन्छ । मेरो हृदयभित्र कतै केही चट्ट चुँडिएको लाग्दछ तर म मौन रहन्छु ।

कतिपटक त मैले मेन्डोलिन लुकाइदिने पनि गरेकी थिएँ । पहिले पहिले त मैले त्यसरी मेन्डोलिन लुकाइदिंदा विनोदले मलाई फकाएर, म्वाई खाएर कुत्कुताएर बिन्ती गरेर मबाट मेन्डोलिन लिइछाड्नु हुन्थ्यो । तर पछिपछि उहाँ मसँग फर्कन र रिसाउन थाल्नुभयो त्यसैकारण मैले मेन्डोलिन लुकाउन छाडें ।

एक दिन बिहानदेखि नै मैले “पेट साह्रै नै दुःखेको छ” भनेर ओच्छ्यान छोडिनँ र उहाँलाई “आज अफिस नजानुहोस् न” भनेर अनुरोध गरें ।

मम्मीले पनि “दुलहीलाई सन्चो छैन भने आज घरै बस” भनेर छोरालाई भन्नुभयो । विनोद त्यो दिन घरै बस्नुभएको थियो ।

मम्मी घरबाट ननिस्कँदा सम्म मैले ओछ्यान छोडिनँ तर उहाँ काममा जानासाथ म ओछ्यानबाट जुरूक्क उठेर नुहाउन गएँ, त्यतिवेला विनोद हाम्रो चारवर्षीय छोरो राजुसँग आँगनमा खेल्दै हुनुहुन्थ्यो ।

मैले गुलाबी रङको सारी र ब्लाउज लाएँ । धेरै दिनबाट प्रयोगमा नल्याएका साधनहरू प्रयोग गरें र सिंगारिएँ अनि झ्यालबाट बाहिर मुन्टो निकालेर आँगनतिर हेरेर कराएँ, “राजु..! राजु..!!”

मेरो स्वर सुनेबित्तिकै विनोद राजुलाई बोकेर के भो भन्दै कोठाभित्र पस्नुभयो । म मरीमरी हाँसें । धेरै दिनपछि म त्यसरी खुलेर हाँसेकी थिएँ । मेरो सिंगार, मेरो हाँसो सबै देखेर विनोद केही क्षण त स्तब्ध भएझैँ हुनुभयो तर तत्कालै उहाँको आँखामा रिसको आगो बलेको थियो ।

“मलाई यस्तो प्रकारको सस्तो ठट्टा मन पर्दैन,” विनोदले बडो कठोर स्वरमा भन्नुभयो ।

“के गर्ने त आफू एक छिन पनि मसँग बस्दैनबस्ने,” भन्दै मैले उनको हात समातेर आफूतिर तानें ।

“लाज लाग्दैन झुटो बोल्न ? मम्मीले के सोच्नुहोला ।” उहाँ मेरो हात झट्कारेर राजुलाई त्यहीं छोडेर कोठादेखि बाहिर निस्कनुभयो । केही बेरपछि बाहिर मोटरसाइकलको आवाज सुनियो । म दगुर्दै गएर हेरें । विनोद गइसक्नुभएको थियो ।

त्यस दिन विनोदको रूखो व्यवहार र कटुवचनबाट ठुलो आघात पाएकी थिएँ मैले ।

“के म विनोदको निम्ति भोगको वस्तु मात्र हुँ ?” मेरो हृदयमा बारम्बार त्यही एउटा प्रश्नले ठुंगिरह्यो ।

दुनियाँले देख्दा मेरो वैवाहिक जीवन सुचारूरुपले चलिरहेको देखिन्थ्यो । सुखसुविधाले परिपूर्ण भएको यो घरमा अभावले चियाउन पनि सक्दैन तर मलाई मात्र थाहा छ यहाँ यस घरभित्र म कति एक्ली र उदास छु ।

“विनोद मलाई माया गर्नुहुन्न,” भनेर म भन्दिनँ । उहाँ मलाई माया गर्नुहुन्छ । मेरो निम्ति सुखसुविधाका साधन जुटाइदिनुहुन्छ । रातिको एकान्तमा मलाई आफ्नो न्यानो अँगालोभित्र बाँधेर भन्नुहुन्छ, “सृजना । तिमीलाई कति माया गर्छु, त्यो तिमी बुझ्दिनौ तिमी सित्तैमा मसँग निहुँ मात्र खोजिरहन्छ्यौ । मम्मीलाई हेर कति शान्त हुनुहुन्छ । कहिल्यै कसैसँग रिसाउनुहुन्न ।” म विनोदको छातीमा टाउको राखेर रोइरहन्छु ।

त्यसरी नै वर्षहरू बित्दै गए । म दुईओटा सन्तानकी आमा भएँ । विनोदको दैनिक जीवनमा कुनै प्रकारको परिवर्तन भएन । मम्मी, विनोद र मेन्डोलिन ती सबै यथावत् नै रहे ।

अब त बच्चाहरू शिशुमन्दिर जान थालेका छन् । म झनै एक्ली हुन लागेको छु ।

सोचेकी थिएँ— बच्चा भएपछि मन भुल्नेछ, तर त्यो पनि मेरो मिथ्याभास मात्र रहेछ । मेरो मनको रिक्तता त्यसै रिक्त नै रह्यो ।

उनीहरू स्कूल गएपछि म आफ्नो कोठाभित्र पसेर घन्टौसम्म केही नगरेर बसिरहन्छु । आनन्द आउँछ मलाई यसरी बस्दा । कोलाहल मलाई पटक्कै मन पर्दैन । एकान्त ठाउँमा एक्लै बसेर गहिरो सोचमा डुब्नु अति राम्रो लाग्छ ।

मलाई सिंगारपटार गर्न पनि झर्को लाग्छ । कतिपल्ट विनोदले पनि भनिसक्नुभएको छ । तिमीलाई हिजोआज के भएको छ ? कपालसम्म पनि नकोरी बस्छ्यौ, लुगा पनि कति मैलो हुन्छ तिम्रो ! हेर त मम्मीलाई यस्तो उमेरमा पनि कति फुर्ती छ उहाँमा । कम से कम मम्मीलाई हेरेर भए पनि केही त सिक्नुपर्ने हो ।

विनोदका कुराहरू सुनेर मभित्रको ज्वालामुखी संयमको बाँध भत्काएर बाहिर फुट्न खोज्दछ तर चूपचापै बसिरहन्छु केही नबोलेर ।

हिजोआज मेरो शरीरको चिसोपनदेखि चिढिन लाग्नुभएको छ विनोद पनि ।

“दुलहीलाई कुनै राम्रो डाक्टरकहाँ लैजा । यस्तो उमेरमा पनि यो के हुन लागेको हो कुन्नि ।” मम्मीले विनोदसँग कतिपल्ट भनिसक्नुभएको छ तर मलाई थाहा छ संसारको कुनै डाक्टरकहाँ पनि मेरो रोगको औषधि छैन ।

मम्मी र विनोदले राजु र मीनालाई होस्टलमा राखिदिने सल्लाह गरिसक्नुभएको छ ।

आज पनि सदाझैं मम्मी र विनोद बैठककोठामा बसेर संगीतको रियाज गर्दै हुनुहुन्छ । मम्मीको सुरिलो स्वर मेन्डोलिनको धुनमा मिसिएर मेरो कोठासम्म आइरहेको छ, म उठेर कोठाका जम्मै झ्याल बन्द गर्छु । मेन्डोलिनको स्वर अझ चर्को हुँदै गैरहेको छ; म के गरूँ ? कसो गरूँ ! मलाई कुनै उपाय सुझ्दैन । हठात् मेरा सारा शरीर काँप्न थाल्छन्, म आत्तिन्छु निसासिन्छु र हतारहतार ढोका खोलेर बैठककोठामा दगुर्दै जान्छु र बैठककोठाको ढोकामा उभिएर बेस्मारी चिच्याउँछु – “बन्द गर । बन्द गर; यो स्वर… ।” -sahityapost