May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

तीजको दरः के खाने, के नखाने ?

Advertisement

भैरहवा– हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ । हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन छ । हुनत अहिले चलन फेरियो । महिना दिन अघिदेखि नै सहरदेखि गाउँसम्म यो रमझम छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा भेज तथा ननभेज दुवैथरी भोजन समावेश हुन्छन्।

Advertisement

भोलि व्रत भएकोले दिउँसो भरी नाचगान गर्दै नारीहरुले पीडा पोख्दा चर्को घाममा उनीहरुलाई समस्या नहोस् भनेर दर खाने प्रचलन छ । अहिले दरका नाममा मादक पदार्थको प्रयोग पनि भएका समाचारहरु बाहिरिएका छन् । यी कुराहरुलाई यहिँ छोडौँ । दर धेरै खाँदा पनि स्वास्थ्यमा समस्या हुन्छ । कस्तो किसिमको दर खाने भन्ने कुराले स्वास्थ्यमा प्रभाव पारेको हुन्छ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा झाडापखाला, पेट ढुस्स हुने, फूल्ने, ढ्याउ आउने, ग्याँस भरिने जस्ता समस्याहरु देखा पर्दछ । त्यसैले ठिक्क आफ्नो शरीरको पाचन क्षमता हेरेर खानुहोला ।

दरमा के खाने के नखाने ?
–वर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
–सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
–दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
–तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
–नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
–व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
–दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
–पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
–फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
–बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।

दर के हो ? कसरी पकाउने ?
तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ ।

यसरी बनाउनुस् मिठो दर
आवश्यक सरसामग्री
– चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
– दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
– घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
– मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
– चिनी (आवश्यकता र स्वादअनुसार)
– कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
– काँक्रोको अचार
– आलु र करेला तथा बोडीको तरकारी

पकाउने तरिका
– कराई राम्रोसँग तताउनुहोस् ।
– तातेको कराईमा घ्यू राख्नुहोस् ।
– घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
–सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
– चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
– यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो ९जाईफल० लाई भने पिसेर धुलो बनाउने ।
– निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
– अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
– दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
– अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
– दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
– अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् ।