May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

महिला सशक्तिकरणका लागि ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता हुँदै

Advertisement

भैरहवा– रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले पहिलो पटक ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता गर्ने भएको छ । महिलामा भएका अन्तरनिहीत विभिन्न प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउने यसको मुख्य उद्देश्य हो ।

Advertisement

आइतवार भैरहवामा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १५ गते भैरहवामा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय मिसेज लुम्बिनी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिताबाट बचेको रकमबाट छात्रा शिक्षामा र आईसीयु जडित एम्बुलेन्स खरिद गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष जैशीले जानकारी दिए ।

क्लबका अध्यक्ष जैशीले विभिन्न प्रतिभा भएर पनि विवाह पश्चात् घरको कार्यव्यस्तताले उजागर गर्ने मौका नपाएका सर्वसाधारण महिलाका लागि यो प्रतियोगिता अवसर हुने बताए । ‘महिला सशक्तिकरण यो प्रतियोगिताको अर्को पाटो हो’, अध्यक्ष जैशीले भने, ‘प्रतियोगिताबाट कति कम बच्छ, सोहीअनुसार बचेको रकम छात्रा शिक्षामा र आईसीयु जडित एम्बुलेन्स खरिदमा खर्च गरिने छ ।’

प्रतियोगिताका लागि सहभागी हुन चाहने महिलाहरुका लागि भदौ १७ सोमबारदेखि नै फर्म बितरण गरि कात्तिक १ गतेदेखि सहभागीका लागि रुपन्देही र दाङ जिल्लामा अडिसन राउण्ड संचालन गरिने छ । अडिसन राउण्डबाट छनोट भएका महिलाका लागि कात्तिक २३ देखि मंसिर ८ गतेसम्म क्लोज क्याम्प संचालन गरि विभिन्न बिधामा तालिम दिइने छ ।

प्रतियोगितामा २० वर्ष उमेर पुगेका र लुम्बिनी प्रदेश भित्र बसोवास गरेका महिलामात्र सहभागी हुन पाउने छन् । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट न्युनतम ६० जना महिलाको प्रतिष्पर्धा रहने र २३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेका छन् ।

प्रतियोगिताकी संयोजक देवी गुरुङले सहभागी महिलाको आफ्नो परिचय प्रस्तुतीदेखि प्रतिभा र बौद्धिकतालाई छनोटको आधार मानिने बताइन् । ‘छनोट मूल्यांकनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका जर्जको निर्णय र भ्युअर्स भोटिङको पनि आधार मानिने छ’, गुरुङले भनिन्, ‘छनोट र मूल्यांकनको आधार सहभागीको सुन्दरतालाई मात्रै प्राथमिकता दिइने छैन ।’

लुम्बिनी प्रेस क्लवकी अध्यक्ष सम्झना शर्माले लुम्बिनी प्रदेश विभिन्न समुदायको मिश्रित बसोवास भएको प्रदेश भएकाले सबै सहभागी महिलाको समान सम्मान र मूल्यांकन हुने गरि कार्यक्रम संचालन गर्न सुझाव दिइन् । ‘कतिपय महिलालाई भाषाको समस्या पर्न सक्ने भएकाले यसतर्फ पनि ध्यान दिन जरुरी छ’, शर्माले भनिन् ।

प्रतियोगिताको विजेताले आकर्षक क्राउनसहित नगद ५१ हजार, फस्ट रनर–अपले क्राउनसहित नगद ३१ हजार र सेकेन्ड रनर–अपले क्राउनसहित सहित नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।